
काठमाडौँ, हरेक वर्ष वैशाख ६ र ७ गते हुने भिटामिन ‘ए’ कार्यक्रम यस वर्ष अघिल्लै वर्ष यही फागुन २० र २१ गते हुने भएको छ ।
सरकारले आगामी चैतदेखि राष्ट्रिय ‘सूक्ष्मपोषण तत्व’ सर्भेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागेकाले भिटामिन ‘ए’ कार्यक्रम फागुनमा सारिएको हो । बाल स्वास्थ्य महाशाखा पोषण शाखाका प्रमुख गिरिराज सुवेदीले सर्भेक्षणमा भिटामिन ‘ए’को मात्रा पनि मापन गरिने र त्यसको सही मात्रा मापनका लागि रगत नमुना सङ्कलन गर्दा भिटामिन ‘ए’ खुवाइएको कम्तीमा एक महिनापछि गर्नुपर्ने भएकाले वैशाखको कार्यक्रम फागुनमा सार्नुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो—“हामीले १९९८ पछि अहिले आएर यो सर्भेक्षण गर्दैछा,ैँ प्राविधिक रुपमा सर्भेक्षणको समय पनि भिटामिन ‘ए’ खुवाउने समयमा पर्ने भएकाले सार्नुपरेको हो, किनकि वैशाखमा भिटामिन खुवाएपछि त्यसको एक महिनापछि रगतको नमुना सङ्कलन गर्दा सो समयमा मनसुन सुरु हुने भएकाले समय सार्नुपरेको हो ।”
तर वैशाखको कार्यक्रम फागुनमा सारिएको भए पनि आगामी कात्तिकको २ र ३ गतेको कार्यक्रम भने यथावत् समयमा नै सञ्चालन हुने सुवेदीले जानकारी दिनुभयो ।
झन्डै १८ वर्षपछि नेपालमा सूक्ष्मपोषण तत्वको सर्भेक्षण हुन लागेकाले रगतको नमुना लिएर बालबालिकामा भिटामिन ‘ए’को मात्रा पनि मापन गरिने छ । साथै आयोडिन, आइरन, क्याल्सियम जिन, प्रोटिन लगायत सूक्ष्मपोषणको मात्रा सबै प्रकारको उमेर समूहमा परीक्षण गरी सर्भेक्षण गरिने सर्भेका संयोजक डा रजीन्द्र बिसीले जानकारी दिनुभयो ।
हुम्ला र रसुवा बाहेक बाँकी ७३ जिल्लामा आगामी वर्षको अन्त्यसम्ममा सर्भेको नतिजा प्रकाशन गरिने छ । रासस