मोरङ, चिनी मिलले उखुको पैसा समयमा नदिएका कारण मोरङ र सुनसरीका उखु कृषकहरु उखु खेतीबाट निराश बन्दै गएका छन् । एकातिर सरकारले ढिलो गरी उखुको मुल्य तोक्ने र अर्कोतिर आफ्नै पैसा लिन पनि दुई वर्ष कुर्नुपर्ने भएपछि निराश बनेका उखु कृषकहरुले चिनी मिलले समयमा पैसा नदिएका कारण उखु खेती घटाउदै लगेका छन् ।
खेतमा सिंचाइ सुविधा नभएपछि मोरङ कदमाहाका कृषक मोहमद अखवरलाई फेरि उखु खेती नै लगाउनुपर्ने बाध्यता आईपरेको छ । गत वर्ष तीन बिगहा खेतमा लगाएको धान सिचाई अभावमा उत्पादन नभएपछि उखु खेती गर्नुको विकल्प नै नभएको उनले बताए ।
तर पछिल्लो समयमा उखुको उचित मूल्य पाउँन छोडेका कृषकहरुले चिनी मिलबाट आफैंले उब्जनी गरेको उखुको पैसा लिन समेत निकै पापड पेल्नुपरेको छ । त्यसैले सुनसरी र मोरङमा यस वर्ष करिब ८ सय बिगहामा मात्र नयाँ उखु खेती गरिएको छ । गत वर्ष सुनसरीमा १ हजार र मोरङमा ६ सय बिगहामा नयाँ उखु खेती गरिएको थियो । उखु कृषकहरुले नगदे बालीका रुपमा उखु खेती गर्दै आएकोमा अहिले गहुँ, तोरी र मुसुरो बाली लगाउन थालेका छन् ।
यस वर्ष उखुको मुल्य समेत घटेकाले उखु कृषकहरुलाई थप निराश बनाएको छ । गत वर्ष उखुको मुल्य प्रति क्विण्टल ४ सय ८१ रुपैया रहेकोमा यस वर्ष ४ सय ४८ रुपैया मात्र छ । त्यसमा पनि चिनी मिलले उखु क्रसिङ माघमा मात्र शुरु गरेकाले उखु खेतमा नै सुकेर तौल घट्ने समस्या थपिएको कृषकहरुले गुनासो गरेका छन् ।