
साँखु, साँखुको शालीनदीमा स्वस्थानी माधवनारायण व्रत पूजाको साङ्गे सोमबार गरिँदैछ ।यस दिनलाई साँखुवासीले अश्वमेघ यज्ञ गरिने दिनका रुपमा लिन्छन् ।
यस दिन व्रत पूजाको अन्तिम दिन भएकाले कागले ननाघेको जल लिएर आइसकेपछि मात्रै माधवनारायणको स्नान गराइन्छ । बिहानको पूजा सावागण र कजीले गर्छन् भने रातिको पूजा अश्वमेघ यज्ञ सहित मूल पुरोहित र जोशी पुजारी समेतको उपस्थितिमा गराइन्छ ।
यस क्रममा माधवनारायणलाई इही (बेलविवाह), कय्तापूजा(व्रतवन्ध) र बाह्रा तय्गु (गुफा राख्ने) कार्य समेत गरिन्छ । पूजामा अश्वमेघ यज्ञका लागि अति आवश्यक घोडाको प्रतीक समेत पूजामा राखी व्रत पूजा एवम् हवन समेत गरिने भएकाले पनि यस पूजालाई अश्वमेघ यज्ञ भनिने गरेको हो ।
होममा वर्तालुले आफूले लगाएको घिउले भिजाइएको लुगा (कमिज, रुमाल आदि) होम गर्छन् । होम गरिएको लुगाको खरानीको कालो टीका बनाई लगाइन्छ । सो कालो टीका आफ्ना साथीसङ्गी, इष्टमित्रलाई प्रसाद दिँदा लगाइदिने गरिन्छ ।
लुगा जलाउने होम सकिनासाथ माधवनारायण, मूल पुरोहित र कजी÷कजिनीलाई महिनाभर व्रत पूजा सम्पन्न गरेकामा धन्यवादस्वरुप वर्तालुले कलश चढाउँछन् । सावागणले समेत कलश चढाउने प्रचलन छ । अन्य दिन भने सावागणले प्रसाद चढाउने हैन चढाइएको प्रसाद आफूले ग्रहण गर्छन् ।
उनीहरु माधवनारायणका सेवक भएका कारण व्रत पूजा अगडि माधवनारायणलाई चढाइएको दक्षिणा, फलफूल आदि बाँडेर लिन्छन् । यस दिन व्रत साङ्गे हुँदा कुखुरा बासेमा भोजन वर्जित छ । व्रत साङ्गेको दिन वर्तालुमध्ये कसैलाई मीत लगाउन मन लागेमा मिल्ने साथीसँग मीत लाउने काम पनि हुन्छ ।
यस दिन बिहान ज्योतिलिङ्गेश्वर परिसरमा जम्मा भई कजी, सावागणसहित सम्पूर्ण वर्तालुले राजकुलोमा नुहाएर शिव भजन गाउँदै ज्योतिर्लिङ्गेश्वर परिसर परिक्रमा गरी चलाखुटोलको अजिद्यःसम्म पुगेर भजन विसर्जन गर्छन् ।
यस दिन वर्तालुको परिवारजन नै शाली नदी परिसर पुगी भोजन गर्ने चलन छ तर कजी÷कजिनी, देवता बोक्नेहरु र सावागणले भने पीठ देवता र गणेश पूजा गर्छन् ।