९ फाल्गुन २०७२, आईतवार

बुटवल, रुपन्देही जिल्लामा विगत वर्षमा भन्दा अहिले कुष्ठरोगका बिरामी बढेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार जिल्लाका सबै गाविस र नगरपालिकामा कुष्ठरोगी भेटिएका छन् ।

kusta

कार्यालयका निमित्त प्रमुख टीकाराम अधिकारीले कार्यालयले अनुगमन गर्दा जिल्लाका सबै गाविस, नगरपालिका र उपमहानगरपालिकामा कुष्ठरोगी भेटिएको बताउनु भयो ।

बिरामीले यो रोग लुकाउने समस्या पनि बढी पाइएको छ । आव ०७२÷७३ कात्तिकसम्म जिल्लामा १२९ जना कुष्ठरोगका बिरामी रहेको अधिकारीले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा १२७ जना कुुष्ठरोगका बिरामी रहेको कार्यालयको तथ्याङ्क छ । त्यस्तै आव ०७२÷७३ को साउनदेखि कात्तिकसम्म ५० जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा प्रत्येक वर्ष पाँच प्रतिशतका दरले नयाँ कुष्ठरोगका बिरामी पत्ता लाग्ने गरेको छ ।

सरकारले प्रत्येक १० लाख जनसङ्ख्यामा एकजनामा कुष्ठरोगी झार्ने लक्ष्य लिएको छ । रुपन्देहीमा १३ प्रतिशत कुष्ठरोगका बिरामी फेला पर्नु डरलाग्दो अवस्था देखिएको जनस्वास्थ्य निरीक्षक तथा बाल कल्याण महाशाखाका प्रमुख वसन्त श्रेष्ठले बताउनुहुन्छ । रुपन्देही पनि धेरै कुष्ठरोगका बिरामी भएको जिल्लामा परेको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरिम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने ज्यादै कम सर्ने रोग हो । यो रोगले खासगरी छाला र स्नायुमा बढी असर गर्ने गर्छ । छालामा असर गर्दा दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखिने हुन्छ । स्नायुमा असर गर्दा र हातगोडामा चाल नपाउने हुन्छ ।

अधिकारीले कुष्ठरोगका बिरामीको जिल्लाका ७७ वटा स्थानमा परीक्षण र उपचार गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो । शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखापर्नु, दागमा रौँ झरेर जानु, पसिना नआउनु, नचिलाउनु, स्नायुमा असर पर्न जाँदा हातखुट्टा लगातार झमझम गर्नु र स्नायु सुन्निनु, हातखुट्टाका औँला लाटो, कमजोर हुने र अन्त्यमा अङ्गभङ्ग हुुनु कुष्ठरोगका लक्षण हुन् । ६ देखि १२ महिनासम्म नियमित औषधि सेवन गरे कुष्ठरोग पूर्ण निको हुन्छ ।

LIVE TV