७ फाल्गुन २०७२, शुक्रबार

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न खोज्दा पत्रकार कनकमणि दीक्षित लगायत १२ जना अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई शुक्रबार विहान ९ बजे पक्राउ गरी प्रहरीले तीन घन्टा थुनामा राखेर छोडेको छ । छोराको हत्यारालाई कारबाहीको माग राख्दै आमरण अनसनमा बसेकी गोरखाकी गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

kanakmani

प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार प्रधानमन्त्री ओली टुँडिखेल आउने समयमा रोकेर ध्यानाकर्षण गराउन पुगेका उनीहरुलाई धर्ना दिने क्रममा प्रहरीले समातेको हो ।

पक्राउ पर्नेमा दीक्षितसहित चरण प्रसाईं, रसना ढकाल, सुमन अधिकारी, जनक राउत, सावित्री श्रेष्ठ, राम भण्डारी लगायत रहेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री टुँडिखेलको कार्यक्रममा आउने भएकाले सरकारको ध्यानाकर्षण गर्न धर्नामा बसेका बेला प्रहरीले पक्रेर तीन घन्टा थुनेर कार्यक्रम सकिएपछि छाडेको पत्रकार दीक्षितले बताए । उनले भने– गंगामायाको स्वास्थ्य अवस्था गम्भीर छ । हामी सबै मिलेर उनको माग पुरा गर्न दबाब दिनुपर्छ । उनको ज्यान बचाउनुपर्छ ।

 

LIVE TV