
जुम्ला, । जिल्ला भू–संरक्षण कार्यालय जुम्लाले जिल्लास्थित इच्छुक किसानलाई २० हजार ओखरका बिरुवा निःशुल्क वितरण गरेको छ ।
बर्सेनि स्याउ तथा ओखरका बिरुवा वितरण गर्दै आइरहेको कार्यालयले यस वर्ष पनि ओखरसहित स्याउका बिरुवा वितरण गरेको हो ।
कार्यालयले समूहगत रुपमा ताम्ती गाविसको टोप्लामा दुई हजार, मालिकाठाँटा गाविसको जुम्लाकोट तथा खोप्रीमा पाँचसय, डिल्लीचौरको तिर्खुगाउँमा पाँचसय, तलिउमको उम्खोलामा तीनसय ओखरका बिरुवा वितरण गरिसकेको निमित्त कार्यालय प्रमुख गगनबहादुर कठायतले जानकारी दिनुभयो ।
क्षतिग्रस्त भूमि पुनर्उत्थान, कृषि वनमैत्री खेतबारी संरक्षण, विपन्नताका लागि आयमूलक संरक्षण र बाँस निगालो वृक्षरोपण कार्यक्रमअन्तर्गत किसानलाई निःशुल्क ओखर तथा स्याउका बिरुवा वितरण गरिएको निमित्त कार्यालय प्रमुख कठायतले बताउनुभयो । कार्यालयले स्याउका १५ हजार बिरुवा पनि वितरण गरिएको जनाएको छ ।