काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने राजकीय भ्रमणका लागि आज भारत जाँदै हुनुहुन्छ । काठमाडौंमा हुने प्रजातन्त्र दिवससम्बन्धी विशेष कार्यक्रममा सहभागी भएपछि उहाँ अपरान्ह ३ बजे भारत प्रस्थान गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओलीले १२ गतेसम्म भारतको भ्रमण गर्न लाग्नुभएको हो भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका, उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल हुनुहुनेछ ।
यसैगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्य सचिव डाक्टर सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा रहनेछन् ।
नेपालको इतिहासमै छिमेकी भारतको राजकीय भ्रमण गर्ने प्रधानमन्त्री ओली दोस्रो कार्यकारी प्रमुख हुनुहुन्छ । यसअघि विक्रम संवत २०४६ को राजनीतिक परिवर्तनपछि २०४७ मा गठित सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई राजकीय भ्रमणको सम्मान दिइएको थियो भने अब लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिएको नयाँ संविधान जारीपछिको नयाँ सरकारका प्रधानमन्त्री ओलीलाई त्यही प्रकारको सम्मान दिन लागिएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहनु हुनेछ ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले दुई देशबिचको ऐतिहासिक सम्बन्धमा मित्रता नै सबथोक भएकाले सम्बन्धमा देखिएको केही द्विविधालाई स्पष्ट पार्ने र द्विपक्षीय विकासबारे भ्रमणका समयमा छलफल हुने बताउनुभयो । उहाँले विगतमा सहमति भएका परियोजना र पूरा हुन बाँकी कार्यबारे पनि छलफल हुने जानकारी दिनुभयो । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिने घोषणा गरेको एक अर्ब रुपैयाँ अनुदानबारेमा पनि कुराकानी हुनेछ ।
प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा देखिएका असहजतालाई पूर्ववत् अवस्थामा फर्काई अझ बलियो बनाएर द्विपक्षीय बहुआयामिक सम्बन्धलाई सबल बनाउने आधार तय गर्ने भ्रमणको उद्देश्य रहेको बताइसक्नुभएको छ । भ्रमणका बेला आपसी सम्बन्धको चिसोपना अन्त्य, भारतको सहुलियत ऋणको उपयोग, व्यापार र पारवहन, विज्ञान, प्रविधि, स्वास्थ्य र पुनर्निर्माण, सामाजिक र सांस्कृतिक सहयोग आदान, पञ्चेश्वर आयोजनाको शीघ्र सञ्चालन लगायत विषयमा छलफल गर्ने तयारी छ