६ फाल्गुन २०७२, बिहीबार

दमक, दुई दशक अघिदेखि पूर्वका झापा र मोरङका विभिन्न शिविरमा शरणार्थी जीवन बिताउँदै आएका भुटानी शरणार्थी प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारत भ्रमणका क्रममा शरणार्थी समस्या समाधान गर्न छलफल हुने भन्दै निकै आशावादी छन् ।
रासससँग कुराकानी गर्दै दमकस्थित बेलडाँगी शरणार्थी शिविरका अगुवा तथा सर्वसाधारणले स्वदेश फिर्तीको मागलाई भारतीय समकक्षीसँग राखिदिन प्रम ओलीसँग आग्रह गरेका हुन् । भुटानी शरणार्थी समस्या दक्षिण एसियाकै समस्या भएको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

kp oli dai

शरणार्थी शिविर बेलडाँगीका क्याम्प सचिव सञ्चहाङ सुब्बाले भुटान सरकारले आफ्ना जनतालाई तेस्रो देश पलायन गराएर भुटानको प्रजातन्त्रलाई कमजोर बनाउन थालेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “शरणार्थीको आफ्नो मातृभूमि फर्कन पाउनुपर्ने अधिकारलाई सुनिश्चितताका लागि कूटनीतिक पहलको खाँचो छ ।” भारतीय सहयोगबिना शरणार्थी स्वदेश फर्कन नसक्ने भन्दै उहाँले प्रधानमन्त्री ओलीले भारतीय समकक्षी समक्ष यसको पहल थाल्नुपर्ने धारणा राख्नु भयो ।

शरणार्थी शिविर बेलडाँगी–२ सेक्टर सी थ्रीका दिल महत स्वदेश फिर्तीको विषयलाई लिएर यसअघि भएका १५ औँ चरणका बैठकले कुनै पनि समाधान निकाल्न नसकेकाले अब यस मामिलालाई प्रधानमन्त्री ओलीले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

“प्रधानमन्त्री ओली शरणार्थी मामिलाका बारेमा निकै जानकार हुनुहुन्छ”– शरणार्थी अगुवा सन्तवीर घलेले भन्नुभयो, “भ्रमणका क्रममा प्रम ओलीले शरणार्थी समस्या समाधानका लागि पहल गरिदिनेमा निकै आशावादी छौँ ।”

त्यस्तै भुटानी मानअधिकारवादी नेता टेकनाथ रिजाल भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले यस मुद्दालाई उठान गरिदिए छिट्टै शरणार्थी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुहुन्छ । रासस

 

LIVE TV