६ फाल्गुन २०७२, बिहीबार

काठमाडौँ,प्रधानमन्त्रीले भारत भ्रमणबारे आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री थापा उपस्थित भएनन् । प्रधानमन्त्रीले दुई बजे राखेको पत्रकार सम्मेलनभन्दा एक घण्टापछि उपप्रधानमन्त्री थापाले पनि परराष्ट्र मन्त्रालयमा छुट्टै पत्रकार सम्मेलन गर्ने निम्ता पठाएका थिए । तर पछि एकाएक परराष्ट्र मन्त्रालयमा आयोजना गर्ने भनिएको उक्त सम्मेलन रद्द भयो ।

oli

प्रधानमन्त्री कार्यालयमा हुने पत्रकार सम्मेलन बुधबार नै तय भएको भए पनि परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनको तयारी बिहीबार बिहान तय भएको हो ।

उनीहरुको व्यवहारबाट पनि भ्रमणको तयारी नपुगेको स्पष्ट देखिन्छ । प्रधानमन्त्री पत्रकार सम्मेलनमा आइपुगेपछि परराष्ट्र मन्त्रीलाई खोज्दै थिए । उनका मुख्य सल्लाहकार विष्णु रिमालले सम्पर्क गर्दा उताबाट ढिलो हुने खवर आएको जानकारी प्रधानमन्त्रीलाई दिए लगत्तै उनले पत्रकार सम्मेलन अघि बढाउन निर्देशन दिएका थिए । मुख्य सचिव सोमलाल सुवेदीले पत्रकार सम्मेलनको सुरुवात गरेका थिए ।

त्यसपछि परराष्ट्र सचिवलाई शंकरदास बैरागीलाई फोन गरेर बोलाउदै सम्मेलनमा सहभागी गराइएको थियो । बैरागी हतारहतार गर्दै आएर सम्मेलनको एक छेउमा उभिए । पछि उनलाई मुख्य सचिव सुवेदीको छेउमा लगेर राखियो । यसबाट पनि भ्रमणको भद्रगोलपना छचल्किन्छ । पत्रकार सम्मेलनको तयारीमा समेत संयोजन हुन नसकेको अवस्थामा एजेण्डागत सहकार्य कसरी भयो होला भन्दै प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरु एकआपसमा गफिएका थिए ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री भ्रमणमा जाने विषय आफैले पत्रकार सम्मेलन गरेर भन्नु अस्वभाविक हो भन्दै उपप्रधानमन्त्रीले त्यहाँ उपस्थिति नजनाएका हुन । ‘परराष्ट्र मन्त्री वा मन्त्रालयले भ्रमणको व्रिफिङ गर्ने हो । प्रधानमन्त्री वा प्रधानमन्त्री कार्यालयले होइन । मोदी नेपाल आउदा वा अन्य मुलुक जादा आफू राजकीय वा कुन भ्रमणमा जान लागेको आफैले भन्दै हिंड्दैनन् । यो असुहाउदो भयो भन्दै उपप्रधानमन्त्रीले उपस्थिति जनाएनन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने । प्रधानमन्त्रीले बिहीबार गरेको पत्रकार सम्मेलनमा ऊर्जामन्त्री टोपबहादुर रायमाझी उपस्थित थिए ।

भारत भ्रमणको तयारी भन्दै प्रधानमन्त्रीले अर्थमन्त्री विष्णु पौडेललाई भारत पठाएको प्रचार गरेदेखि नै प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच खटपट सुरु भएको हो । थापाको चीन भ्रमण हुने समयमा पनि प्रधानमन्त्रीले कानुन मन्त्री अग्नी खरेललाई समावेश गराएर थापाप्रति अविश्वास देखाइसकेका थिए ।

सुशील कोइरालाको निधनमा श्रद्धान्जली दिन आएका भारतीय विदेश सचिव सुष्मा स्वराज परराष्ट्र मन्त्रालयमा आउने भनिए पनि प्रधानमन्त्रीसँगको भेटमा नै थापा उपस्थित भएका थिए । परराष्ट्र मन्त्री थापालाई प्रधानमन्त्रीले गरेको अविश्वास भारत भ्रमणको क्रममा समेत देखिने स्पष्ट छ । ‘थापा भारत जान्छन तर भूमिकामा देखिदैनन्’, एक अधिकारीले बताए ।

 

LIVE TV