
बागलुङ,सरकार परिर्वतन हुदा बागलुङको बलेवाबासीमा विमानस्थल सञ्चालनमा आउने आशा पलाउछ । फरक फरक समयका बिभिन्न नेतृत्वको सरकारका मन्त्रीहरुका बिमान तथा हेलिकप्टर जिल्लाको विमानस्थलमा अवतरण पनि हुन्छ । तर नियमित विमान उडान हुने बलेवावासीको सपना भने विगत २० बर्षदेखि अधुरै रहेको छ । १९ रोपनी क्षेत्रफल ओगटेको विमानस्थल २० वर्षदेखि सञ्चालन हुन नसक्दा स्थानीय अहिले खेलकुद मैदानका रुपमा मात्र चित्त बुझाउन बाध्य छन् ।
विमानस्थल भवन मर्मत वाहेक सञ्चालनको लागि कुनै सरकारले वास्ता नदेखाउदा बिमानस्थलको जग्गा र तत्कालीन लगानी खेर गएको छ । कहिले काही आक्कल भुक्कल आउने नेता तथा मन्त्रीहरुले विमानस्थल सञ्चालनमा ल्याउँने आश्वासन दिने गरेपनि अहिलेसम्म कसैको आश्वासन पूरा नभएको स्थानीय देवबहादुर खड्काले बताउनुभयो ।
तर अहिले बिमानस्थल नजिकैबाट कालीगण्डकी करिडोर निर्माण भएसँगै विमानस्थल सञ्चालनमा आउने स्थानीयमा आशा पलाएको छ । बलेवा विमानस्थलबाट विगतमा काठमाण्डौ, पोखरा, भैरहवा र जोमसोम लगायतका क्षेत्रमा उडान हुदै आएको थियो । विमानस्थलबाट विमान सञ्चालनमा आउन नसके पनि विमानस्थलका कर्मचारीहरुले भने काजबाटै सेवा निवृत्त भैसकेका छन् । नारायणस्थान ७ का योगेन्द्रराज शर्माका अनुसार विमानस्थलका नाममा केही बर्ष यता बिभिन्न समयमा बजेट छुट्याउँदै आएको छ । त्यसबारे स्थानीयहरुलाई भने कुनै जानकारी नभएको उहाँको कथन छ । केही वर्ष अघि पोखराबाट कर्मचारीहरु आएर विमानस्थलमा सामान्य रुपमा रङ्गरोगन भएको उहाँले बताउनुभयो ।
उता नागरीक उड्यन मन्त्रालयले विमानस्थल सञ्चालनमा आउन नसक्नुमा मन्त्रालय दोषी नरहेको जनाएको छ । केही समय अघि बागलुङमा आयोजित एक कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विमानस्थल मन्त्रालयको कारण नभई स्थानीय समस्यको कारण सञ्चालनमा आउन नसकेको बताउनुभएको थियो । पोखरेलले सडक सञ्जालको कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताउनुभएको थियो । साथै पोखरेलले निमार्णधीन कालीगण्डकी करिडोर सञ्चालनमा आएको एक महिना भित्रै विमानस्थल सञ्चालन गर्ने दाबी समेत गर्नुभएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोखरेलको अभिव्यक्तिसँगै वलेवावासीमा फेरी विमानस्थल सञ्चालनमा आउने आशा पलाएको छ । अब यो आशा फुस्रो आश्वासनमा मात्र सीमित नरहने स्थानीयहरुको विश्वास समेत रहेको छ ।