६ फाल्गुन २०७२, बिहीबार

काठमाडौं– नक्कली ल्याब टेस्ट किटहरु विक्री वितरण गरेको अभियोग एक व्यापारी पक्राउ परेका छन् । ललितपुर सानेपास्थित सेरोल्याब नेपाल ट्रेडर्सका सञ्चालक किरण कुमार श्रेष्ठ पक्राउ परेका हुन् ।

बर्दिया राजापुर ६ स्थायी ठेगाना भएका श्रेष्ठले चीनमा उत्पादित नक्कली ल्याब टेस्ट किटहरुलाई इटलियन लेबल टाँसेर बेच्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले बताए ।

nakalli-kit
चीनको छेन्जुस्थित अटोवायो डाइग्नोष्टिक कम्पनी लिबाट ल्याइएका नक्कली एचआइभी टेस्टिङ, थाइराइड टेस्टिङ लगायतका किटलाई आफैंले लेबल टाँसेर सक्कली भन्दै उनले बेच्ने गरेको थिए ।

kit-2
इटलीको प्रसिद्ध कम्पनी एडलटिसको लोगो बनाएर सोही ठाउँमा उत्पादन भएको ठेगानासमेत राखी बेच्ने गरेका थिए । वीरेन्द्र सैनिक अस्पाललाई समेत उनले नक्कली किट बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ  । एसएसपी अधिकारीले भने, ‘विभिन्न अस्पताल र फार्मेसीमा बेचेको किटले काम नगरको गुनासो आएपछि अनुसन्धान थालेका हौं ।’
अनुसन्धानका क्रममा उनले बेच्ने एचआईभी किटको प्रयोग गर्दा एक निरोगी व्यक्तिमा एचआईभी पोजेटिभ देखिएको थियो । वैदेशिक रोजगार जानुअघि वा यस्तै कुनै परीक्षणमा उनले बेचेको किटले एचआईभी पोजेटिभ देखाउने भएकाले धेरैलाई मानसिक आघात परेको हुनसक्ने उनले बताए । ‘आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने एचआइभी र थाइरोइड परीक्षण किट नक्कली पर्दा धेरैलाई हानी भएको हुन सक्छ,’ अधिकारीले भने ।

बुधवार पक्राउ गरिएको श्रेष्ठमाथि थप छानविन भइरहेको छ ।  उनले आफ्नै कार्यालयको प्रिन्टरबाट नक्कली लेबल छापेको देखिएको प्रहरीले जनाएको छ  ।
उनको कार्यालयबाट एचआइभी एलाइजा टेस्ट किट, टिएसएच टेस्ट किट, एफटिए एलआइजा टेस्ट किट र एचबी एसएजी एलाइजा टेस्ट किट बरामद भएको छ ।  यी किटको प्रयोगशाला जाँच भइरहेको बताइएको छ ।
चीनमा निकै सस्तोमा पाइने यी किटलाई इटलियन भन्दै महंगोमा विक्री गर्ने गरेकाले कालोबजारी अन्तर्गत अहिले नै मुद्दा चलाइने प्रहरी परिसरले जनाएको छ । ल्याब रिपोर्टपछि जनस्वास्थ्यमा गरेको खेलबाडलाई लिएर थप कारबाही अघि बढाइने भएको छ  ।

नक्कली किट

नक्कली किट

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV