
भीमदत्तनगर, दुई वर्षअघि गठन भएको प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी)ले आफ्नो अभियानलाई अघि बढाएपछि बाघका नौ थान छालासहित १८ जना अभियुक्त पक्राउ गर्न सफल भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको वन्यजन्तु शाखामा अनुभव लिइसकेका प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले सुदूरपश्चिम ब्युरोको नेतृत्व सम्हाल्दै कञ्चनपुरको भीमदत्तनगरलाई आधार बनाएर काम थालेपछि यो सफलता हात लागेको हो ।
सुरुवाती दिनमा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण तथा अदालतको कैद भुक्तान छाडेर फरार रहेका अभियुक्तलाई नियन्त्रणमा लिने काममा खटिँदै आएको जोहारी नेतृत्वका १२ सदस्यीय ब्युरोको ध्यान २०७१ माघ १ गतेदेखि वन्यजन्तु तस्करी नियन्त्रणमा गयो ।
गत वर्ष माघदेखि वन्यजन्तु क्षेत्रमा हुने चोरी सिकारी तथा संरक्षित वन्यजन्तु मार्ने गिरोहको खोजीमा जुटेको ब्युरोले देशका अन्य क्षेत्रीय ब्युरोभन्दा बढी सफलता हासिल गर्न सफल भएको छ । “हामीले ९ औँ अपरेसनसम्म आइपुग्दा पश्चिम नेपाल तथा भारतीय वनमा बाघ मार्ने गिरोहको ठूलै सञ्जालभित्र पस्न सफल भयौँ,” हालै क्षेत्रीय ब्युरोबाट केन्द्रीय ब्युरोमा सरुवा भएका प्रहरी नायब निरीक्षक जोहारीले भन्नुभयो–“यस क्षेत्रमा बाघ मार्ने गिरोहमा भारतीय बाबरिया समुदायका मानिस बढी सक्रिय छन् ।”
“सुरुवातमै बाघको छाला र अभियुक्त समात्दा अनुसन्धानका क्रममा बाबरिया समुदाय नै जोडिएर आउँथ्यो,” उहाँले भन्नुभयो– “केही दिनअघि कैलालीको पहलमानपुरमा नेपालमा बाघ मार्न संलग्न श्रवण बाबरियासहितका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेका छौँ ।”
नौ थान बाघका छाला, १२५ किलो हड्डी र १८ जना अभियुक्त पक्राउ गर्न सफल भएको ब्युरोलाई प्रोत्साहन स्वरुप विश्व वन्यजन्तु कोषले अब्राहम लिङ्कन पुरस्कारका साथै शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालय र जिल्ला वन कार्यालय कञ्चनपुरबाट सम्मान पायो ।
बाघ मार्ने घटनामा पक्राउ परेका नेपाली तथा भारतीय अहिले सबै जेलमा छन् । जोहारीले भन्नुभयो – “देशका अन्य क्षेत्रमा पनि बाबरिया समुदायकै बढी संलग्नतालाई अनुसन्धानले देखाएको छ ।”
“हाम्रो अपरेसनले बाबरिया समुदायमै सन्त्रास फैलिएको छ,” उहाँले भन्नुभयो– “भारतमा पनि यो समुदायलाई निकै निगरानीमा राख्ने गरिएको छ ।”
गत वर्ष माघको पहिलो साता कञ्चनपुरको दोधारा चादँनीमा बाघको छालासहित पक्राउ परेका भारतीय नागरिक दुलाल मण्डल पनि बाबरिया समुदायकै रहेको ब्युरोको भनाइ छ ।
जोहारीले भन्नुभयो– “उनले अनुसन्धान फितालो पार्न थर नै फेरेका थिए ।” लगत्तै कञ्चनपुरकै बेलौरीमा पक्राउ परेका भारतीय नागरिक पनि बाबरिया सञ्जालकै भरियाका रुपमा बाघको छाला बोकेर नेपालबाट तिब्बत लग्दै गर्दा ब्युरोको फन्दामा परेका हुन् । पक्राउ परेकामध्ये ११ जना कैलाली, पाँच जना कञ्चनपुर र १÷१ जना बर्दिया र सुर्खेतमा कानुनी कारबाही भोग्दै छन् ।
नेपालमा पनि अति विपन्नजस्ता देखिने बाबरिया समुदायमाथि विशेष निगरानी बढाएमात्रै वन्यजन्तुको संरक्षण हुने जोहारी बताउनुहुन्छ ।
को हुन् बाबरिया ?
भारतको पञ्जाव, हरियाणा, गाजियावाद, चण्डीगडलगायतका क्षेत्रमा बसोबास गर्ने बाबरिया समुदाय हेर्दा अति विपन्न परिवारका जस्ता देखिने गर्छन् ।
प्रायः नङ्ग्रा भएको जनावरको मासु आहारका रुपमा प्रयोग गर्न रुचाउने यो समुदायमा वन्यजन्तु मार्न समुदायमै बैठक गर्छ र निर्णय लिन्छ ।
“यो समुदायमा महापञ्चायतले बाघ मार्ने विषयमा समुदायमा गोप्य निर्णय गर्छ,” अनुसन्धानका क्रममा भारतमा बाबरिया बस्तीसमेत पुगिसकेका अनुसन्धान ब्युरो प्रमुख जोहारीले भन्नुभयो– “महापञ्चायतले नै प्रत्येक वर्ष बाघको छालाको मूल्य निर्धारण गर्छ ।”
दशदेखि १२ जनाको समूह बनाएर वन्जयन्तु मार्न सक्रिय बाबरिया सञ्जालमा महिला, बालबालिका तथा पुरुष सहभागी हुन्छन् । “पुरुषको जङ्गलमा पसेर पासा थाप्ने र विष खुवाएर बाघ मार्ने भूमिका रहने स्वयम् पक्राउ परेका अभियुक्तले स्वीकार गरेका छन्,” जोहारीले भन्नुभयो– “महिला र बालबालिका छाला र हड्डी ओसारपसारमा खटिनुपर्ने जिम्मेवारी हुन्छ ।”
यस वर्ष बाबरिया समुदायको महापञ्चायतले बाघको छालाको मूल्य दुई लाख पाँच हजारदेखि तीन लाख भारतीय रुपैयाँसम्म निर्धारण गरेको श्रवण बाबरियाको भनाइ उद्धृत गर्दै जोहारीले भन्नुभयो । बाघ पाइने स्थान छेउछाउ सडक पेटीमा सामान्य झुपडी वा पाल गाडेर यो समुदाय आश्रय लिने गर्छ । देखावटी रुपमा फिरन्ते जीवन गुजारेको देखिने यो समुदायले भारतमा पनि धेरै बाघ मारिसकेको ब्युरोको दाबी छ । यसरी बाघ मार्न सक्रिय बाबरिया सञ्जालबारे सुराक पाएको ब्युरोले बाघको छाला, हड्डी पैठारी गर्ने भरियादेखि बाघ मार्ने समूहसम्मको सञ्जाललाई तितरवितर पारिरहेको छ ।
कैलालीको पहलमानपुरबाट पक्राउ परेको श्रवण बाबरिया नेतृत्वको आठ सदस्यीय गिरोहले केही समयअघि मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा दुई वटा बाघ मारेको स्वीकार गरेको ब्युरोले जनाएको छ । रासस