
काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले वसन्तपुरस्थित तलेजु भवानी मन्दिरको आज बिहान अवलोकन गर्नुभएको छ ।विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको सो मन्दिरको वरिपरि घुमेर भूकम्पपछि मन्दिरको अवस्थाबारे समेत उहाँले जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीले मन्दिरको अवलोकनका साथै पूजासमेत गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले तलेजु मन्दिरको छानोबाट पानी चुहिने भएकाले छाना बनाउनका लागि सरकारले रु पाँच लाख दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले मन्दिर निर्माणका लागि सरकारले एक पटकमा रु पाँच लाखभन्दा बढी दिन नमिल्ने भएकाले सुरुमा रु पाँच लाख दिने र नपुगे पटक पटक गरी छानो निर्माणको काम पूरा गर्ने बताउनुभयो ।
भूकम्पका कारण सो मन्दिर सामान्य चर्किएको छ भने छानोबाट पानी चुहिन्छ । त्यसका लागि स्थानीयवासीले सरकारसँग छानो निर्माण गर्नुपर्ने माग गरेका थिए ।मल्लकालीन राजाहरुको इष्ट देवताका रुपमा पुजिने तलेजु भवानीको मन्दिरमा सर्वसाधारणका लागि वर्षको एकपटक मात्र दसैँको नौरथा अर्थात् नवमीको दिनमात्र खोलिन्छ ।
मल्लकालीन राजा महेन्द्र मल्लको पालामा तलेजु भवानीको मन्दिर बनेको हो ।हनुमानढोका दरबार क्षेत्रभित्रै रहेको नारायण पोखरीको पनि प्रधानमन्त्री ओलीले अवलोकन गर्नुभएको छ । काठमाडौँमा रहेका तीनवटा तालमध्ये नारायण पोखरी अर्थात् जलाशय नारायण एक हो । नारायण तालसहित काठमाडौँमा बालाजु र बूढानीलकण्ठ गरी तीन ताल रहेका छन् ।
राजाहरुले बूढानीलकण्ठमा गएर दर्शन गर्न नपाउने भएपछि राजा प्रताप मल्लले नारायण पोखरी निर्माण गर्नुभएको थियो ।सो क्षेत्रको अवलोकनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महत, सोही मन्त्रालयका सचिव प्रेमकुमार राई, काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायत उपस्थित हुनुहुन्थ्यो ।