इलाम, । सशस्त्र द्वन्द्वका क्रममा ध्वस्त भएका रेञ्जपोस्ट कार्यालय अझै पुनःनिर्माण हुन नसक्दा कर्मचारीलाई काम गर्न समस्या भएको छ ।यहाँका विभिन्न गाविसका आधादर्जन रेञ्जपोस्ट कार्यालय पुनःनिर्माण नहुँदा कर्मचारीलाई बसेर काम गर्न समस्या भएको हो ।
जिल्लामा १३ वटा रेञ्जपोस्ट र एउटा सवरेञ्जपोस्ट रहेका थिए । कतिपयका अहिलेसम्म पनि आफ्नै भवन छैनन् । भत्किएका रेञ्जपोस्ट पुनःनिर्माण नहुँदा भग्नावशेषमा परिणत भएका छन् ।
रेञ्जपोस्ट कार्यालय पुनःनिर्माण नहुँदा कर्मचारी घर भाडामा लिएर काम गर्न बाध्य भएका छन् । पुनःनिर्माण नहुँदा साँघुरो कोठामा कार्यालय चलाउनुपर्छ, कार्यालय पनि त्यही, मेस र आवास पनि एकैठाउँ हुँदा काम गर्न ज्यादै कठिनाइ उत्पन्न भएको छ, सहायक वन अधिकृत सुनिलकुमार सिंहले भन्नुभयो । रेञ्जपोस्ट पुनःनिर्माण नहुँदा त्यस क्षेत्रमा वन चोरी तस्करी हुने गरेको छ ।
पुनःनिर्माणका लागि वन मन्त्रालय र विभागमा समेत पटकपटक जानकारी गराउँदासमेत कुनै पहल नभएको उहाँको गुनासो छ । ध्वस्त भएका छवटा कार्यालयमध्ये दानाबारीस्थित गजुरमुखी इलाका वन कार्यालय मात्र पुनःनिर्माण भएको छ । भएका पनि जीर्ण अवस्थामा भएकाले कर्मचारीलाई बसेर काम गर्न अप्ठ्यारो भएको सिंह बताउनुहुन्छ । भाडामा लिएको कार्यालयमा ठाउँ पर्याप्त नहुँदा कर्मचारी नै नबस्ने गरेको समेत उहाँको भनाइ छ ।
चुलाचुलीस्थित पेल्टिमारी, साकफाराको तोरीबारीमा रहेको रेञ्जपोस्ट र पशुपतिनगर रेञ्जपोस्ट मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । रेञ्जपोस्ट हुँदा दैनिक क्रियाकलाप राम्ररी सम्पादन गर्न सकिने कर्मचारीहरू बताउँछन् ।
द्वन्द्वका क्रममा चुलाचुलीस्थित पेल्टीमारी रेञ्जपोस्ट, देउमाई नगरपालिकाको मङ्गलबारे, महमाईको विष्णेटार, नयाँबजार र लक्ष्मीपुर रेञ्जपोस्ट कार्यालय ध्वस्त भएका थिए ।
ध्वस्त कार्यालय सरकारले बनाउने चासो नदिँदा त्यहाँ गएर बस्न नसकिने अवस्था भएको कर्मचारी बताउँछन् । सरकारी भवन मर्मत नहुँदा भाडा लिएर बस्दा समस्या हुने गरेको बताइएको छ । पहिलेका ठाउँमा रेञ्जपोस्ट नहुँदा कतिपय कर्मचारी जिल्ला बसेर पनि सम्बन्धित ठाउँको काम गरिरहेको सहायक वन अधिकृत सिंहले बताउनुभयो ।