६ फाल्गुन २०७२, बिहीबार

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा मुठ्ठीदान अभियानमार्फत ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।पौलत्स्य–पुलह अन्न क्षेत्र विकास समितिले गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने वृद्धवृद्धा र मुक्तिनाथ जाने–आउने तीर्थयात्रीलाई गलेश्वरमा निःशुल्क भोजनको व्यवस्था गरेको हो ।

 

 

tirtha ya

भोजनका लागि गलेश्वर बजार, आसपासका गाउँ र देशका विभिन्न ठाउँमा मुठ्ठीदान अभियान सञ्चालन गरेर चामल, दाल, तरकारी, नुन, तेल, घ्यूउ, चिनीलगायत दैनिक उपभोग्य सामग्री सङ्कलन गरिने संस्थाका सदस्य बमबहादुर पुनले जानकारी दिनुभयो ।

“वृद्धाश्रममा बस्ने ६० जना ज्येष्ठ नागरिक र मुक्तिनाथ जाने आउने तीर्थयात्रीलाई मुठ्ठीदानको रासनले निःशुल्क भोजनको व्यवस्था मिलाएका छौँ” सदस्य पुनले भन्नुभयो – “गलेश्वर दर्शन गर्न आउने आसपासका बस्तीका बासिन्दाले चामल, दाल, तरकारी ल्याएर मुठ्ठीदान गर्नुहुन्छ ।”

साठीजना ज्येष्ठ नागरिकलाई भोजनका लागि दैनिक १० किलोग्राम चामल आवश्यक पर्छ । हालैमात्र संस्थाका अध्यक्ष भीमनाथ पराजुलीको नेतृत्वमा बुटवल र भैरहवामा मुठ्ठीदान अभियान सञ्चालन गरेर ४५ क्विन्टल चाम, २०० केजी आलु, १५० केजी चिनीलगायत खाद्यान्न ल्याइएको छ ।

घरपरिवार तथा आफन्तबाट अपहेलित भई आश्रममा बस्न आएका अशक्त ज्येष्ठ नागरिकलाई रासनको जोहो र भान्छाको काम गर्न समस्या भएपछि २०६८ सालदेखि निःशुल्क भोजनको व्यवस्था गरिएको हो । यसका साथै मुक्तिनाथ तीर्थयात्रामा जाने गरिब तथा विपन्नको सुविधाका लागि पनि निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV