६ फाल्गुन २०७२, बिहीबार

चितवन। चितवनको पूर्वी क्षेत्रमा पर्ने नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित भएका छन् । वन्यजन्तुको अवलोकन गर्न पाइने र स्थानीयवासीको रहनसहन पनि मौलिक भएकाले यहाँ पर्यटक आकर्षित भएका हुन् ।

 

turist

पूर्वी चितवनको क्षेत्र यसरी नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको हो । दुर्लभ तथा संरक्षित वन्यजन्तुको संरक्षण हुन थालेपछि पर्यटक आकर्षित हुन थालेका संरक्षणकर्मी ईश्वरीराज पाठकले जानकारी दिनुभयो । जिल्लाका ४० पर्यटकीय क्षेत्रमध्ये यो क्षेत्र पछिल्लो समयमा स्थापना भएको नयाँ पर्यटकीय गन्तव्य हो ।

 

एकसिङ्गे गैँडा, बाघको वासस्थान बढेपछि सो क्षेत्रमा अवलोकनका लागि पर्यटकको चाप बढेको छ । अघिल्लो वर्षभन्दा झन्डै ५० प्रतिशतले पर्यटक क्षेत्रमा आम्दानी बढेको पाइएको छ ।

कुमरोज सामुदायिक वनका अध्यक्ष हिरा गुरुङ सौराहा आएका पर्यटक कुमरोजमा घुम्न पुग्ने गरेको बताउनुहुन्छ ।

गैँडा, बाघ, भालु, चितुवा, चित्तललगायतका वन्यजन्तु कुमरोज मध्यवर्ती सामुदायिक वनमा भेटिन थालेपछि पर्यटकीय पूर्वाधार निर्माण गरेर स्थानीयवासीले पर्यटकलाई आकर्षित गराएका हुन् । हात्ती सफारीको सेवासमेत केही वर्षदेखि सुरु गरेपछि पर्यटक हात्ती सफारी गरेर दुर्लभ वन्यजन्तु अवलोकनमा रमाउन थालेको स्थानीयवासीले बताएका छन् ।

यहाँको एकमात्र आम्दानी भनेकै अहिले पर्यटन बन्न पुगेको छ । अघिल्लो एक वर्षमा ५० हजार पर्यटकलाई कुमरोजमा घुमाएको वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिनुभयो ।

“पर्यापर्यटनबाट अघिल्लो वर्ष रु ५० लाख जति आम्दानी गरेका थियौँ, नेपालले भन्नुभयो, यो वर्ष झन्डै रु एक करोड आम्दानी गर्न सफल भइयो ।” कुल आम्दानी रु एक करोड १९ लाखमध्ये ९० लाख पर्यटनबाट मात्रै आम्दानी गर्दा स्थानीयवासी उपभोक्ता संरक्षणमा हौसिएका छन् ।

आएको आम्दानी वन संरक्षण, ताल तथा मचान निर्माण एवम् विपन्नको आयआर्जनमा खर्च गर्ने गरिएको संरक्षणकर्मी ईश्वरीराज पाठकले बताउनुभयो । पहिले गैँडा राख्नका लागि कृत्रिम ताल बनाउनुपरेको स्मरण गर्दै उहाँले गैँडाहरु उक्त वनमा पाँच, छवटासम्म देखिने गरेको बताउनुभयो ।

अहिले दैनिक १५० भन्दा बढी विदेशी र स्वदेशी पर्यटकले कुमरोज वनमा पुगी हात्तीमा चढेर वन्यजन्तुसमेत अवलोकन गर्ने गरेका छन् । उहाँका अनुसार पर्यटकको आकर्षण बढेसँगै आवाससहितको दुईवटा मचानसमेत बनाइएको र दैनिक पर्यटक मचानमै बास बस्ने गरेका छन् ।

गाउँमा पनि पर्यटकको बसाइँ लम्याउन यहाँ होमस्टे सञ्चालनसमेत गरिएको नेपालले बताउनुभयो । अहिले यहाँ पाँचवटा दराई होमस्टे खुलेको र अझै एकदर्जन बढी होमस्टे सञ्चालनको योजना ल्याइएको छ ।

LIVE TV