काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा राष्ट्रियतालाई सर्वाेपरी हितमा राखी विदेश नीतिका पाँच नयाँ आधारलाई जोड दिनुहुने भएको छ ।
यही फागुन ७ गतेदेखि पाँचदिने राजकीय भ्रमणमा भारत जान लाग्नुभएका प्रधानमन्त्री ओलीले कुनै मुलुकको परनिर्भरतामा नभई नेपालको राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राख्न ती पाँच आधार अघि सार्नुभएको हो ।
प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला विज्ञ गोपाल खनालका अनुसार राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र स्वाधीनता, मुलुकको हित र द्विपक्षीय लाभका आधारमा आपसी प्रधानमन्त्री ओलीले भारतीय पक्षसँग संवाद गर्नुहुनेछ । प्रधानमन्त्री ओली आगामी दिनमा अर्काे छिमेकी मुलुक चीनमा जाँदा पनि सोही पाँच आधारलाई केन्द्रमा राखिने भएको छ ।
खनालले प्रधानमन्त्री ओलीले अघि सारेका ती पाँच आधार मुलुकको स्वाधीनताका दृष्टिले नयाँ र बलिया भएको बताउँदै त्यसकै आधारमा दुई देशबीचको सम्बन्धलाई सुधार गरी नयाँ आयाम थप्ने काम हुने जनाउनुभयो ।
संविधान जारी भएपछि तराई–मधेसमा आन्दोलन भएको र भारतको समेत असन्तुष्टिका कारण सीमामा नाकाबन्दी भएको तीतो यथार्थकाबीच प्रधानमन्त्री ओलीले नेपाल भूपरिवेष्टित मुलुक भएका नाताले त्यसका आधारमा आफ्नो पारवहन अधिकारको वकालत गर्दै आउनुभएको थियो ।
सो विषयमा भारतसँगको निरन्तर कूटनीतिक पहल र मधेसी मोर्चासँगको वार्ता तथा जनस्तरको दबाबका कारण अघोषित नाकाबन्दी हटेपछि प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लाग्नुभएको हो ।
दुई प्रधानमन्त्रीसँगको संवाद नै मुख्य कार्यसूची
प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यसूचीबारे अहिलेसम्म सरकारबाट औपचारिक जानकारी दिइएको छैन । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मङ्गलबारको मन्त्रिपरिषद्को बैठकमा पनि त्यसबारे विस्तृत छलफल नभएको बताउनुभयो । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच हुने ‘वान टु वान’ वार्तामा हुने छलफल नै भ्रमणको मुख्य कार्यसूची हुनेछ । भ्रमणका अवसरमा ठोस सन्धि सम्झौता हुने तयारी देखिएको छैन ।
भ्रमणबारे एमाले स्थायी समितिलाई जानकारी
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे आज नेकपा (एमाले) को स्थायी कमिटीलाई जानकारी गराउनुभएको छ । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीले नयाँ सरकार गठनपछि भारतसँगको सम्बन्ध सुधार भएको, आपसी असमझदारी हटेको र भ्रमणका क्रममा थप सम्बन्ध सुधारको पहल हुने जानकारी गराउनुभएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपाल भारत परिवेष्टित होइन । भूपरिवेष्टित मुलुक हो । नेपालको असंलग्न परराष्ट्र नीतिअनुसार हामी सबै छिमेकी र अन्य मुलुकसँगको सम्बन्ध विस्तारमा लाग्नेछौं ।’’
एमाले केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतालाई ध्यानमा राखेर दुईपक्षीय हितका विषयमा भारतसँग छलफल हुने बैठकलाई जानकारी गराउनुभएको थियो । रासस