५ फाल्गुन २०७२, बुधबार

धनुषा, सिँचाइ मन्त्री उमेश यादवले कृषि विकासका योजनाको अभावमा देशमा बेरोजगारीको समस्या बढेको बताउनुभएको छ ।

मन्त्री यादवले धनुषा जिल्लाका विकट गाउँ चक्करमा आयोजित पूर्ण सिञ्चित गाविस घोषणा कार्यक्रममा जनता र विकासबीचको दूरी बढेको कारण देशमा विकासले गति लिन नसकेको बताउनुभयो ।

Umesh_Yadav_Minister_527597922

नेपाल कृषिप्रधान मुलुक भए पनि रु दुई अर्बको हाराहारीमा अन्य देशबाट खाद्यान्न सामग्री आयात गर्नु र कृषिलाई उत्पादनसँग जोेडेर लैजान नसक्नु सबैभन्दा ठूलो कमजोरी भएको उहाँको भनाइ थियो ।

किसानलाई सहुलियत दिन बिजुली, डिजेललगायत वस्तुमा अनुदान दिने व्यवस्था गर्न लागिएको जानकारी दिँदै मन्त्री यादवले ‘समृद्ध तराई मधेस विशेष सिँचाइ कार्यक्रम’, अबको आवमा ‘एक निर्वाचन क्षेत्र ः तीन सिञ्चित गाविस’ र ‘तराई बाढी व्यवस्थापन तथा घरपरिवार संरक्षण’ कार्यक्रम ल्याइएको बताउनुभयो ।

सांसद रामकृष्ण यादवले चक्कर गाविस देशमै पहिलो पटक पूर्ण सिञ्चित क्षेत्र घोषित भएकाले कृषिको क्षेत्रमा तराईकै नमुना गाउँको रुपमा विकास गरेर देखाउने चुनौती थपिएको बताउनुभयो ।

एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य रामचन्द्र मण्डलले कृषिलाई उद्योगसँग जोडेर लैजान सकिए देशमा बेरोजगारी समस्या न्यून हुनुका साथै किसानलाई आत्मनिर्भर बन्न सहयोेग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV