
मोरङ,सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमांकन लगायतका मुद्दाहरु सम्बोधन गर्न बनाउन लागिएको राजनैतिक संयन्त्रको सट्टा कार्यदललाई नै संयन्त्रको अधिकार दिए उत्तम हुने बताउनु भएको छ ।
विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष महतोले संयन्त्रमा शीर्षस्थ नेताहरु राख्नु भन्दा अधिकार र कार्यक्षेत्र स्पष्ट गरेर कार्यदललाई अधिकार सम्पन्न बनाउन सुझाव दिनुभएको हो । उहाँले डेढ महिना भित्र सिमांकन लगायतका मुद्दाहरु सम्पन्न गर्न सकिए मधेस आन्दोलनका मागहरु सम्बोधन हुने बताउनुभयो ।
सद्भावना अध्यक्ष महतोले अहिलेको समय सरकारका लागि सहज अवस्था भएकाले यसलाई उपयोग गर्दै फागुन मसान्तभित्र मधेसका मागहरु सम्बोधन गर्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले आफुहरु शक्ति संचयमा लागेको र फागुन मसान्त भित्र मागहरु सम्बोधन नभए चैत्र बैशाख देखि पुनः आन्दोलन गरिने बताउनु भयो ।