५ फाल्गुन २०७२, बुधबार

नेकपा (एमाले) संसदीय दलले दलको विधान संशोधनसहित पारित गरेको छ । दलले आफनो विधानलाई नयाँ संविधान अनुरुप हुनेगरी संशोधन गरेको हो । संशोधित विधान अनुसार २५ सदस्यीय विकास क्षेत्रको प्रतिनिधित्व रहने बोर्डलाई विस्तार गरी प्रदेश अनुरुप गठन गर्ने र त्यसलाई २७ सदस्यीय बनाउने निर्णय गरेको छ ।

यसअघि संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र उपसचेतक विरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने व्यवस्था भएकोमा त्यसलाई सुधार गरी अव आइन्दा प्रमुख सचेतक र उपसचेतक विरुद्ध अविश्वास प्रस्ताव गर्न नपाइने सो संशोधित विधानमा व्यवस्था गरिएको छ । व्यवस्थापिका संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको बैठकमा संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले समितिका सदस्यहरुको उपस्थिति, प्रभावकारितालगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
समितिको बैठकमा अधिक उपस्थित हुने तीनजना सदस्यको नाम सार्वजनिक गरिएको थियो । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि उप नेता सुवास नेम्वाङको अध्यक्षतामा बैठक बसेको थियो ।

LIVE TV