५ फाल्गुन २०७२, बुधबार

नायकहरु नगरमा छन यतिखेर , उनीहरुको साहसको सम्मानमा शहरवासी जुटेका छन् , स्वागतमा हात हल्लाइरहेका छन् । एउटा महान युद्द जितेर आए झै गरी उनीहरुको सम्मानमा हातहरु उठिरहेका छन । सच्चा सपूतहरु बनेका छन् । २३ बर्ष मुनिको नेपाली फुटबल टोली ।

उपाधिको खडेरीले बाँझो रहेको नेपाली फुटबल मैदानमा गत महिना राहतको सिंचाई गरेको यो टोलीले अर्को महत्वपूर्ण अध्याय पनि थपेको छ , जस्ले गर्दा नेपाली फुटबल मैदान खुसीयाली फर्किएको छ । हरियाली छाएको छ ।


बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जिताएको महिना दिन नवित्दै यो टोलीले अर्को ठूलो उपाधि हात पारेको छ दक्षिण एशियाली खेलकुदको महत्वपूर्ण मानिएको फुटबल तर्फको उपाधि । २३ बर्ष विना उपाधि छटपटाएको नेपाली फुटबलले भारतको गुवाहटीमा आयोजित १२ औं साग खेलकुद अन्र्तगत फुटबल तर्फको उपाधिका लागि चीर प्रतिद्धन्द्धी भारतलाई उस्कै मैदानमा हराएर गर्विलो जीत हात पारेको छ ।


म्याच फिक्सिङ र भ्रष्टाचार प्रकरणका कारण वदनाम बनेको नेपाली फुटबललाई त्यो बदनामीमा लामो समय डुब्न नदिइ खेलाडीहरुले नेपाली फुटबल जगतमा मडारिएको कालो बादल समेत हटाउन सफल भएका छन । यो चोट र वदनामीका बीच नेपाली खेलाडीले दिलाएको सफलता बास्तबमा नै चमत्कारिक छ नै ।
राम्रो खेल्ने तर जित्न नसक्ने छवि वनाएको नेपाली फुटबल टोलीले पछिल्ला दुई प्रतियोगिताबाट त्यो छविलाई पनि पखालेको छ , लागेका सबै दागहरु पनि हटाएको छ । नेपाली टोलीमा देखिएको फाइटिङ स्पिरिट भनौ लडाकुपनाको विकास यस्मा अझ थप्दा पछि परेको अवस्थालाई पनि उल्ट्याउन सक्ने क्षमताको विकास नेपाली टोलीमा भित्रिएको नयाँ गुण बनेको छ । खेलमा पछि परेपछि नर्भस बन्ने र गोल गर्न नसक्ने प्रवृति नेपाली टोलीको परम्परागत परिचय नै बनेको अवस्थामा त्यो शैलीलाई पनि यसपटक देखि नेपाली टोलीले विर्से झै देखिएको छ ।
भारतले लगाएको नाकावन्दीका कारण क्षियाक्षिया भएका नेपालीका मनहरुलाई जोडेका मात्र छैन यो जीतले भारतलाई उस्कै मैदानमा दिएको गतिलो जवाफले भारतलाई फुटबलमा हराउन नेपाली टोली जहाँ पनि सक्षम भन्ने परिचय पनि दिएको छ ।
नेपाली टोलीले जित हात पारे लगत्तै जुरुक्क उठेको थियो नेपाल , प्रधानमन्त्रीदेखि बिभिन्न दलका नेताहरुलाई शुभकामना र बधाई दिन भ्याई नभ्याई भयो , सामाजिक सञ्जालहरुमा खेलाडीको सम्मानमा शब्दहरु यति खर्च भए , फेसबुक र ट्विटरहरु भरिए । नेपाली टोली उपाधि उचालेर स्वदेश फर्कदा मुलुकको पूर्वी प्रवेशद्धारा काकड्भिट्टादेखि नै भव्य स्वागत सुरु भएको थियो । खेलाडीको स्वागतका लागि पूर्वी नाका काकड्भिट्टामा हजारौ फुटबल प्रेमीहरु भेला भएका थिए भने उनीहरुलाई भद्रपुर विमानस्थलसम्म विशेष सम्मानका साथ पु¥याइएको थियो । उही नायकहरु झापाबाट काठमाडौं आईपुग्दा यहाँ पनि भव्य स्वागत सुरु भएको छ , खेलाडीको सम्मान र स्वागतमा काठमाडौं पनि जुरुक्क उठेको छ ।

LIVE TV