४ फाल्गुन २०७२, मंगलवार

 

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पका कारण पूर्णरुपमा क्षति भएको धरहराको निर्माण जनताकै लगानीमा गर्ने घोषणा गर्नुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सुन्धारामा आयोजना गरिएको ‘ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय सङ्कल्प’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले कुनै वैदेशिक लगानी र सरकारी खर्चमा नभई जनताको खर्चमा नै धरहराको निर्माण गर्ने घोषणा गर्नुभयो ।

Dharhara tower

“धरहरा कुनै सरकारी कार्यालय होइन, नेपालको गौरव, ऐतिहासिक धरोहर हो, त्यहाँ नेपालीपन झल्किएको छ, म बनाउँछु, हामी बनाउँछौँ भन्ने सङ्कल्प गरौँ”–प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले नेपालका ऐतिहासिक सम्पदा, अदालतलगायत खास ठाउँ नेपालीले आफ्नै खर्चमा बनाउँदा आफ्नोपनको महसुस हुने विश्वास व्यक्त गर्र्दै भन्नुभयो, “नेपालीको आफ्नो सम्पदा आफ्नै सम्पत्तिमा निर्माण गरौँ ।”

उहाँले धरहराको पुनःनिर्माणका लागि नेपालभित्र र विदेशमा रहेका सबै जाति र भाषाभाषी, पेसा, व्यवसायका सबैलाई धरहरा निर्माणका लागि आह्वानसमेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हजारौँ वर्षका लागि हुने बलियो, जस्ताको तस्तै तथा आधुनिक ठूलो धरहरा बनाउनेसमेत उद्घोष गर्नुभयो । अहिले धरहरा घुम्न आउँदा पार्किङको ठाउँ नभएकाले नवनिर्माण गर्दा तीन तला पार्किङ निर्माण गरी माथि अहिलेको भन्दा ठूलो धरहरा निर्माण गरिने बताउनुभयो ।

त्यस्तै, धरहरा निर्माण गर्दा स्मारकको रुपमा गत वैशाख १२ गतेको भूकम्पमा परी दिवङ्गत भएका सबैको नाम लेख्नेसमेत प्रधानमन्त्री ओलीले भन्नुभयो । दिवङ्गत व्यक्तिहरुको स्मरणस्वरुप वैशाख १२ वा २९ मा स्मृति दिवससमेत मनाउने तयारी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनताकै खर्चमा धरहराको निर्माणका लागि आफूले खातामा एक महिनाको तलब हालिदिने घोषणासमेत गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पुर्खाले सिर्जना गरेका ऐतिहासिक सम्पदा संरक्षण गर्नु हाम्रो दायित्व भएको भन्दै जनताको पैसामा धरहरा बनाउछौँ भन्ने घोषणा गरिसकेकाले आजैदेखि त्यो काम अघि बढाउने बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले आफूसँग पैसा नभएर नभई सबै जनतालाई धरहरा मेरो हो भन्ने बनाउन र राष्ट्रिय भावना र गौरवका लागि जनताको खर्चमा बनाउन लागिएको हो भन्नुभयो ।

सो धरोहर पुनःनिर्माण घोषणा कार्यक्रममा एकीकृत नेकपा ९माओवादी० अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु विजयकुमार गच्छदार, कमल थापा, भीमबहादुर रावल, सिपी मैनाली, अर्थमन्त्री विष्णु पौडेल, सूचना तथा सञ्चार मन्त्री शेरधन राई, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेल, वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटालगायत मन्त्री तथा राज्यमन्त्रीको उपस्थिति थियो । रासस

 

LIVE TV