
बाराको अमलेखगंज स्थित विषधारी पेट्रोल पम्पबाट तोकिएको भन्दा अतिरिक्त मुल्य लिई इन्धनमा कालोबजारी गर्ने गरेको पाईएको छ । जिल्ला प्रशासन र नेपाल आयल निगमको सिफारिस बाहेक अन्यलाई बिक्री रोकेको अबस्थामा पम्पहरुले आफूखुशी पर्याप्त डिजल ल्याई बढि मूल्य लिई कालो बजारी गर्ने गरेको खुलासा भएको हो । बीरगंज नाका खुले लगत्तै प्रहरी प्रशासनले पम्पहरुमा नियमित अनुगमन निस्क्रिय पारेको मौका छोप्दै बढि मूल्यमा इन्धन विक्री गर्ने प्रवृत्ति बढेको हो ।
पम्पहरुले ७४ रुपैया प्रति लिटर पर्ने डिजललाई सिफारिस अनुमति नलिई आएका सवारीसाधनलाई एक सय दश रुपैयाँसम्म प्रतिलिटरमा विक्री गर्ने गरेको यातायात व्यवसायीहरुले बताए । अत्याबश्यक र खाद्यान्न बोकेका बाहेक अन्य सवारी साधनहरुलाई जिल्ला प्रशासन र नेपाल आयल निगमले सिफारिस दिदैन । तर छड, सिमेन्ट जस्ता सामाग्रीको ढुवानीगर्ने सवारी साधनलाई समेत यहाँका पम्पहरुले नै चर्को मूल्यमा इन्धन बिक्री गर्दै आएको पाइएको छ ।छड लोड भएको सवारीलाई तेल भर्दै गरेको अवस्थामा न्यूज २४ को क्यामरा देखेपछि पम्पले तेल दिन रोकी पम्प नै बन्द गरे । आफ्नो सवारी साधनका लागि अमलेखगञ्ज स्थित विषधारी पेट्रोल पम्प पुगेका यातायात व्यवसायी थिरेन्द्र शर्माले पम्पका सञ्चालकलाई अनुरोध गर्दा क्यालकुलेटरमा अंक दाबी मूल्य बताउने गरेको जानकारी दिए । अमलेखगञ्ज क्षेत्रका पेट्रोल पम्पका सञ्चालकले डिपोबाट नियमित इन्धन लिने गरेपनि दिनमा कुपन भएका सवारीलाई र रातको समयमा चर्को मूल्य असुली खुलमखुल्ला कालोबजारी गर्ने गरेको व्यवसायीहरु बताउछन् ।
यस सम्वन्धमा बाराका प्रहरी उपरिक्षक नरेन्द्रप्रसाद उप्रेतिले ब्यापकरुपमा जनगुनासो आई रहेकोे स्वीकार्दै अब प्रहरीको प्रत्यक्ष निगरानीमा विक्री बितरण गर्ने व्यवस्था मिलाउन लागेको बताउँनुभयो ।
जिल्लाका पम्पहरु प्राय सबैले बढि मुल्य लिई इन्धन बिक्रि गरे पनि अधिकाशं अमलेखगंजका पम्पहरु रहेका छन् । अमलेखगंजको बिषधारी फयुल सेन्टर, आकाश आयल, समर आयल लगायतका दर्जनौ पम्पहरुबाट यसरी विक्री वितरण हुने गरेको चालकहरुको कथन छ ।