३ फाल्गुन २०७२, सोमबार

काठमाडौँ,  मुलकलाई आगामी तीन वर्षभित्र अन्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने सरकारको योजना छ ।

पशुपक्षी विकास मन्त्रालयले तयार गरेको ४० बुँदे प्रतिबद्धतापत्र आज सार्वजनिक गर्दै मन्त्री शान्ता मानवीले यसको जानकारी दिनुभएको हो ।

कृषि विकास मन्त्रालयलाई विभाजन गरी २०७२ साल पुस ९ गते पशुपक्षी विकास मन्त्रालय गठन भएको ३३ दिनपछि मन्त्रालयले प्रतिबद्धतापत्र जारी गरेको छ ।

shanta-manawi

विकसित मुलुकसरह न्यूनतम पशुजन्य पदार्थको उपभोग प्रतिव्यक्ति प्रतिवर्ष दूधमा ९१ लिटर, मासु १४ केजी र अन्डा ४८ वटा उपभोग हुनुपर्छ । हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ६४ लिटर दूध, मासु ११ केजी र अन्डा ३२ वटा उपभोग भइरहेको बताइन्छ ।

नेपालमा हाल प्रतिवर्ष एक हजार ७३४ मेट्रिक टन दूध, तीनलाख तीन हजार मेट्रिक टन मासु र ९० करोड अन्डा प्रतिवर्ष उत्पादन भइरहेको मन्त्रालयबाट जारी गरिएको प्रतिबद्धता पत्रमा उल्लेख छ ।

परिणामलाई लक्ष्यमा पुर्याउन मन्त्रालयले अहिले भइरहेको उत्पादनमध्ये दूधमा ३५, मासुमा २५ र अन्डामा ४५ प्रतिशतले उत्पादन वृद्धि गर्नुपर्ने हुन्छ ।

मन्त्रालयले जारी गरेको प्रतिबद्धतापत्रमा ‘बधशालादेखि भान्छासम्म, स्वच्छ र स्वस्थ मासु’ तथा ‘गोठदेखि ओठसम्म स्वच्छ र स्वस्थ दूध’ कार्यक्रमलाई अभियानका रुपमा लैजान मासुको गुणस्तर परीक्षण, नश्ल सुधार, भ्याक्सिन उत्पादनमा जोड, घाँसेबाली स्रोत केन्द्रको स्थापना, पशुपक्षी पालनमा कृषि अनुदानलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV