३ फाल्गुन २०७२, सोमबार

ताप्लेजुङ,  सरकारले कञ्चनजङ्घा संरक्षण क्षेत्र घोषणा गरेको १८ वर्षपछि बल्ल सरकारी कार्यालयको स्थापना भएको छ ।

एक जना वार्डेन, दुई जना रेन्जर र एक जना नासुको दरबन्दी कायम गरी कार्यालय स्थापना गरिएको हो । पहिलो पटक रु ३५ लाख बजेटसमेत विनियोजन गरेको छ । अहिलेसम्म एक एक वार्डेन र रेन्जरलाई काजमा खटाइँदै आएको थियो । लेलेप गाविसमा प्रधान कार्यालय रहने गरी स्थापित यसको सम्पर्क कार्यालय सदरमुकाम फुङलिङमा रहने वार्डेन हेमराज आचार्यले बताउनुभयो ।

map kanchanjunga

संरक्षण क्षेत्रको व्यवस्थापन भने समुदायद्वारा गठित कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले गर्दै आएको छ । समुदायमा गठन गरिएका आमा समूह, उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीद्वारा प्रत्येक चार वर्षमा निर्वाचित व्यक्ति परिषद्मा रहन्छन् ।

यसअघिसम्म विश्व वन्यजन्तु कोष नेपाल अन्तर्गतको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाको कार्यालय रहँदै आएको थियो । उक्त कार्यालय गत असोजदेखि उठेको छ । कोषले आयोजनामार्फत खर्चने रकम परिषद् मार्फत लगानी गर्न थालेको छ । सरकारी कार्यालयले भने नीतिनियमदेखि अनुगमनसम्मको काम गर्ने र समुदायलाई संरक्षणप्रति सहयोग गर्ने आचार्यले बताउनुभयो ।

सरकारले बनाएको संरक्षणसम्बन्धी ऐन, कानुन समुदायसम्म पु¥याउने, विकास कार्यमा सहयोग पु¥याउने र त्यसको प्रभावकारी अनुगमन गर्ने दायित्व आफूहरुको भएको आचार्यले बताउनुभयो । कञ्चनजङ्घा क्षेत्र विसं २०५३ मा लागू भएको हो । रासस

LIVE TV