
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरणका लागि वार्ता प्रक्रियालाई अघि बढाउने सहमति भएको छ ।
राप्रपा नेपाल, संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको पहिलो वार्तामा दुवै पक्षबाट एकीकरणका लागि सहमतिका समान धारणा तथा असहमतिका दृष्टिकोण निर्माण गर्ने समझदारी भएको छ । राप्रपा नेपालका वार्ता टोलीका सदस्य सहप्रवक्ता मोहन श्रेष्ठले आजको वार्तामा दुवैतर्फका वार्ता टोलीका तर्फबाट आआफ्नो धारणा राख्ने काम भएको जानकारी दिनुभयो ।
वार्ता टोलीको नेतृत्व राप्रपा नेपालका तर्फबाट उपाध्यक्ष राजीव पराजुलीले तथा राप्रपातर्फबाट महामन्त्री बुद्धिमान तामाङले गर्नुभएको छ । रासस