
गुवाहटी , जारी १२ औँ दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दोतर्फ आज नेपालले एकै दिन थप चार रजत पदक जितेको छ ।
सिलोङमा भएको खेलमा एघारौँ दिन नेपालका आयशा शाक्य, निमा गुरुङ, सक्षम कार्की र वीरबहादुर महराले रजत पदक नेपालका लागि दिलाएका हुन् । तेक्वान्दोकी स्टार खेलाडी आयशा शाक्यले रजत पदक जितिन् । अन्तिममा भारतीय मार्गेरितो रेगीसँग सडेन डेथमा पराजित भएपछि शाक्य रजतमा सीमित भएकी हुन् ।
निर्धारित समयसम्म ६÷६ अङ्क भएर बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा रेगीले थप ३ अङ्क बटुल्दै आयशालाई ९÷६ ले पराजित गरी स्वर्ण जितिन् । आयशाले पहिलो राउन्डमा बङ्गलादेशी र सेमिफाइनलमा भुटानलाई पराजित गरेकी थिइन् ।
तेक्वान्दोकै महिला ५३ केजी तौल समूहमा निमा गुरुङले पनि रजत जितिन् । उनी भारतकी लतिका भण्डारीसँग १६÷८ ले पराजित भएकी थिई ।
यसअघि उनले पहिलो राउन्डमा श्रीलङ्का र सेमिफाइनलमा अफगानी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । पुरुष ८० केजी तौल समूहमा नेपालका सक्षम कार्कीले रजत जिते । फाइनलमा भारतीय खेलाडी नवजित म्यानसँग ७÷१ ले पराजित भएपछि उनी पनि रजतमा सीमित भए ।
यसअघि उनले पहिलो चरणमा भुटान र सेमिफाइनलमा अफगानी खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।
तेक्वान्दोकै पुरुष ६३ केजी तौल समूहमा नेपालका वीरबहादुर महराले रजत पदक जिते । फाइनलमा अफगानी खेलाडी अहमद अली बक्सीसँग पराजित हुँदै उनले पनि रजतमा चित्त बुझाए । यसअघि उनले पहिलो चरणमा श्रीलङ्का र सेमिफाइनलमा भुटानलाई पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेका थिए ।
रासस