
रुपन्देही, जिल्लामा कुष्ठरोगको अवस्था डरलाग्दो रुपमा रहेको पाइएको छ ।
जिल्लामा विगत वर्षमा भन्दा अहिले कुष्ठरोगका बिरामी बढेको पाइएको छ । रुपन्देहीका सबै क्षेत्रमा कुष्ठरोगका बिरामी रहेका पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार जिल्लाका सबै गाविस÷नगरपालिकामा कुष्ठरोगी पाइएको छ ।
कार्यालयका निमित्त प्रमुख टीकाराम अधिकारीले सबै गाविस÷नपामा कुष्ठरोगका बिरामी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “कार्यालयले अनुगमन गर्दा जिल्लाका सबै गाविस, नगरपालिका र उपमहानगरपलिकामा कुष्ठरोगी भेटिए । यो जालो जस्तै फैलिएको पाइयो ।” पछिल्लो समय जिल्लामा कुष्ठरोगी घट्दै गए पनि कुनै पनि गाविस÷नपामा उन्मूलन हुन नसकेको बताइएको छ । त्यस्तै यो रोग लुकाउने समस्या पनि बढी पाइन्छ ।
आव २०७२÷७३ कात्तिक मसान्तसम्म जिल्लामा १२९ जना कुष्ठरोगका बिरामी रहेको अधिकारीले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा १२७ जना कुुष्ठरोगका बिरामी रहेको कार्यालयको तथ्याङ्क छ । त्यस्तै आव २०७२÷७३ को साउनदेखि कात्तिकसम्म ५० जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा प्रत्येक वर्ष ५ प्रतिशतका दरले नयाँ कुष्ठरोगका बिरामी पत्ता लाग्ने गरेको छ ।
जनस्वास्थ्य निरीक्षक तथा बालकल्याण महाशाखाका प्रमुख वसन्त श्रेष्ठले जिल्लामा कुष्ठरोगको अवस्था डरलाग्दो रहेको बताउनुभयो । “सरकारले प्रत्येक १० लाख जनसङ्ख्यामा एक जनामा कुष्ठरोगी झार्ने लक्ष्य लिएको छ,” उहाँले भन्नुभयो– “रुपन्देहीमा १।३ प्रतिशत कुष्ठरोगका बिरामी फेला पर्नु डरलाग्दो अवस्था हो ।” रुपन्देही सबैभन्दा धेरै कुष्ठरोगका बिरामी भएको जिल्लामा परेको छ ।
‘कुष्ठरोग शून्य समाजको कल्पना, मानवअधिकार र पुनःस्थापना हाम्रो चाहना’ भन्ने मूल नाराका साथ यस वर्षको कुष्ठरोग दिवस मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरिम लेप्रे नामका सूक्ष्म किटाणुबाट लाग्ने ज्यादै कम सर्ने रोग हो । यो रोगले खासगरी छाला र स्नायुमा बढी असर गर्ने गर्छ । छालामा असर गर्दा दाग देखिने, छाला बाक्लो हुने, गिर्खा देखिने हुन्छ । स्नायुमा असर गर्दा र हात गोडामा चाल नपाउने हुन्छ । अधिकारीले कुष्ठरोगका बिरामीको जिल्लाका ७७ वटा स्थानमा परीक्षण र उपचार गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।
शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखापर्नु, दागमा रौ झरेर जानु, पसिना नआउनु÷नचिलाउनु, स्नायुमा असर पर्न जाँदा हात खुट्टा लगातार झमझम गर्नु र स्नायु सुन्निनु, हातखुट्टाका औँला लाटो र कमजोर हुने र अन्त्यमा अङ्गभङ्ग हुुनु कुष्ठरोगका लक्षण हुन् । छदेखि १२ महिनासम्म नियमित औषधि सेवन गरे कुष्ठरोग पूर्ण निको हुन्छ । कुष्ठरोगीलाई उसको परिवार र समाजबाट अपहेलना हुन नदिन समुदायलाई कुष्ठरोगबारे तथ्य जानकारी गराई अपमानित नगर्न उत्प्रेरित गर्नैपर्ने श्रेष्ठ बताउनुहुन्छ । नेपालमा पछिल्लो समय कुष्ठरोगी खुल्दै गएको र यसका कारण अहिले उपचार गर्न सजिलो भएको कार्यालयको भनाइ छ । रासस