
काठमाडौँ, राष्ट्रिय जनसङ्घर्ष समितिले नेपाललाई हिन्दू अधिराज्य कायम गर्नुपर्ने लगायत एघारबुँदे माग अघि सारेको छ ।
यहाँ आज पत्रकार सम्मेलन गरी अधिवक्ता बालकृष्ण न्यौपानेकोे संयोजकत्वमा आन्दोलनको पनि घोषणा गरिएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संयोजक न्यौपानेले ‘९३ प्रतिशत ओमकार परिवारको भावना विपरीत विदेशीको इसारामा मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरिएपछि अहिले नेपाली जनतामा कालान्तरमा नेपाल नै नरहने हो कि भन्ने चिन्ता बढ्न थालेकाले सङ्घर्ष गर्नुपरेको’ बताउनुभयो ।
समितिले सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने, सङ्घीयता खारेज गरी स्थानीय स्वायत्त शासनअन्तर्गत निर्वाचन गर्नुपर्ने लगायत माग राखेको छ । रासस