प्रधानमन्त्रीको भारत भ्रमण अघि सहमति गर्ने भनिए पनि दलहरुबीच संवाद नै भएन, सहमतिका लागि सरकार गम्भीर नभएको मधेसी मोर्चाको आरोप ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि नै मधेसी मोर्चासंग सहमति गर्ने भनिए पनि केही दिन यता दलहरुबीच संवाद हुन सकेको छैन । यसअघिको बैठकमा कार्यदल स्तरमा छलफल गरेर सहमतिमा पुग्ने बताइए पनि त्यसपछि कुनै पनि बैठक र छलफल भएको छैन ।प्रधानमन्त्री ओलीको आहृवानमा शुुक्रबार बालुवाटारमा भएको सर्वदलीय वार्तामा आज सोमबारसम्ममा सहमति गर्ने समझदारी भएपनि त्यसपछि कुनैपनि बैठक नभएको हो । बैठकमा कार्यदल स्तरमा गृहकार्य गर्ने र सहमतिमा पुग्ने निर्णय भएको थियो । तर, यो तीन दिनमा सहमतिको वातावरण बन्नुको साटो कार्यदलको बैठकसम्म बस्न सकेको छैन । शुक्रबार नै तीन दलको बैठक बसेर मधेसी मोर्चालाई खबर गर्ने भनिए पनि यसबारे अहिलेसम्म केही नभनिएको मोर्चाका नेताहरुले बताएका छन् । सहमतिका लागि सरकार र मुख्य दलहरु गम्भीर नभएको मोर्चाका नेताहरुको आरोप छ ।
प्रधानमन्त्री केपी शर्मा ओली फागुन ७ गते भारत भ्रमणमा जानु अघि नै मधेसी मोर्चासँग सहमति गर्ने तयारी छ । प्रमुख तीन दल र मधेसी मोर्चा राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सीमांकनबारे निर्णय गर्न सहमत भइसके पनि संयन्त्रको टिओआरमा सहमति जुटिसकेको छैन ।