
विराटनगर, फागुन १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र लोकतन्त्रलाई अझ बलियो बनाउन सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
विराटनगर आज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गत वैशाख १२ गतेको भूकम्पपछि नयाँ शिराबाट जसरी दलहरु एकबद्ध भएर संविधान निर्माण गरे, अब राष्ट्र निर्माणका लागि पनि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता महसुस गरिएको बताउनुभयो ।
कसको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने विषयमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले भन्नुभयो, “हालका लागि अर्काे कुनै विकल्प छैन र अहिले त्यस्तो परिस्थिति पनि छैन । ”
उहाँले क्षेत्र र प्रदेश लगाायत विषयका विवादलाई समाधान गर्नका लागि समिति गठन गरी सोको सिफारिसमा सबै दलले छलफल गरी सममाधान गरिने बताउनुभयो ।
उहाँले पुरानै विषयमा विवाद गरिराख्नुभन्दा जनताको आवश्यकता र औचित्यमाथि ध्यान दिनुुपर्ने स्पष्ट पार्दै अब विवादका बादल फाट्दै गएको र दूरी घट्दै गएको छ भन्नुभयो ।
भारत भ्रममणको सन्दर्भमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले भारत भ्रमणबाट दुबै देशबीचको मित्रता अझ प्रगाढ हुने बताउनुभयो । प्रधानमन्त्री आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहको प्रमुख आतिथ्य ग्रहणका लागि आउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराउनुभयो ।रासस