१ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले जनतालाई स्वच्छ खानेपानी दिने दायित्व सरकारको भएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले यसको पूर्ति गर्नुपर्ने बताउनुभएको छ ।

लिमिटेडको आठौँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री सिंहले “संविधानको धारा ३५ (४) मा स्वच्छ खानेपानी र सरसफाइको हक प्रत्येक नागरिकका लागि सुरक्षित गरिएकाले यो दायित्व पूरा गर्नु पर्दछ” भन्नुभयो ।
prem-bahadur-sing_211855605
सार्वजनिक, निजी क्षेत्र र स्थानीय निकायको व्यवस्थापनमा उपत्यकाको खानेपानी जिम्मा दिइएको छ । २०६४ फागुन १ गतेदेखि यो जिम्मेवारी दिएपछि लिमिटेडले काम गर्न नसकेको कर्मचारी स्वम्ले स्वीकार्दै आएका छन् ।

लिमिटेडका समस्या समाधान गर्न सरकार तयार रहेकाले पानीको आपूर्ति चुस्त बनाउन नसके सरकार मूकदर्शक बनेर बस्न सक्दैन मन्त्री सिंहले भन्नुभयो, ‘‘दायित्व पूरा गर्नकै लागि मन्त्रालयको स्थापना गरिएको हो ।’’

राज्यमन्त्री दिनेशचन्द्र यादवले लिमिटेड धरासायी हुनुका कारण खोजेर उपत्यकामा पानीको व्यवस्थापन सुदृढ गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । “सरकारले स्वच्छ पानी पनि दिन नसके के दिन सक्छ ? भन्ने प्रश्न उब्जिएकाले लिमिटेड आफ्नो उद्देश्य पूरा गर्न लाग्नुपर्छ”– उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव सुरेशप्रकाश आचार्यले उपत्यकाका जनसाधारणको पहुँचमा पानी पु¥याउन लिमिटेडको वितरण व्यवस्थापन सुधार गरिनुपर्ने बताउनुभयो । “लिमिटेडका कर्मचारीमा पानीको महसुल बुझाउन जाँदा पनि राम्रो व्यवहार नगर्ने प्रवृत्ति म आफैँले भोगेको छु, कर्मचारीले इमान्दार भएर कर्तव्य निर्वाह गर्नुपर्छ”– उहाँले भन्नुभयो ।

उपत्यकाको ६२५ वर्गमिटरको क्षेत्रमा ४० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने भएकाले पानीको व्यवस्थापन गर्न सजिलो नभए पनि लिमिटेडले चुनौतीको सामना गर्नुपर्ने उहाँको भनाइ थियो । भूकम्प र अघोषित नाकाबन्दीका कारण मेलम्चीको पानी राजधानी आउन लाग्ने समय दुई वर्ष थपिएको पनि उहाँले सुनाउनुभयो ।

लिमिटेड सञ्चालक समितिका सदस्य एवम् मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले धाराको लाइन भइरहेको स्थानमा नयाँ थप्नेभन्दा पनि बिग्रेका संरचना मर्मत गरेर खेर गइरहेको पानीको चुहावट रोक्न ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले सुन्दरीजल प्रशोधन केन्द्रको स्तरोन्नति गर्ने र सुन्दरीघाट प्रशोधन केन्द्रको क्षमता विस्तार गर्ने काम यही आर्थिक वर्षमा गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, लिमिटेड कर्मचारी सङ्घका तेजेन्द्रजँग कार्की, कर्मचारी युनियनका विष्णुप्रसाद अर्याल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका मुकुन्द भण्डारी, कर्मचारी परिषद्का विपिन सोब र स्वतन्त्र कर्मचारी सङ्गठनका नवलसिंह साहुलगायत वक्ताले लिमिटेडका समस्या समाधान गरी उपत्यकावासीका घरका धारामा सहज रुपमा पानी वितरण गर्ने व्यवस्था मिलाउन माग गर्नुभएको थियो ।

हाल उपत्यकामा दैनिक ४० लाख लिटर पानीको माग भए पनि १० लाख लिटरमात्र वितरण गर्न सकिएको सो अवसरमा जानकारी गराइएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV