१ फाल्गुन २०७२, शनिबार

काठमाडौँ, खेतबारीका आली कान्लामा खेती गरेर थाली र ढक्कीमा सङ्कलन गरी सहजै बिक्री हुने फूलमा समेत नेपाल परनिर्भर हुनुपरेको छ ।

नेपालमा फूलखेती व्यावसायिक ढङ्गले सुरुआत भएको झन्डै २३ वर्ष पुगिसक्दा पनि पुष्प व्यवसायको परनिर्भरता शून्यमा झर्न सकेको छैन, खाद्यान्न त परै जाओस् । पूजापाठ र मठमन्दिरमा चढाउने फूल समेत अन्यत्रबाट आयात गरी काम चलाउनुपर्ने भएपछि कृषिप्रधान मुलक नेपाल भन्नु कत्तिको सान्र्दभिक होला ? कृषिविज्ञ र नीतिनिर्माताले गम्भीर भएर सोच्ने अवस्था आएको छ ।
काठमाडौँ मन्दिरै मन्दिरको देशको नामले विश्वमा चिनिन्छ । मन्दिरमा पूजापाठ गर्नु फूल चाहिन्छ । सोही फूल समेत नेपालीले आफ्ना लागि पर्याप्त मात्रामा उत्पादन गर्न नसक्दा आयातमा निर्भर हुनुपरेको व्यावसायिक तथा व्यापार आयोजना (प्याक्ट)का आयोजना निर्देशक डा इन्द्रकान्त झाले जानकारी दिनुभयो ।
phul
गमलामा फूल सहजै उत्पादन हुन्छ । संस्कार र संस्कृतिमा उपभोगका लागि नभई नहुने फूल यतिखेर भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामिबिया, इटाली लगायत मुलकबाट आयात भइरहेको बताइन्छ । यस वर्ष गुलाबको फूल मात्र रु ४० लाखको आयात भएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो ।
यस वर्ष भारतबाट मात्र रु १० करोडको फूल आयात भएको छ । एक पटक प्रयोग गरिसकेपछि फूललाई पुनःउपोगमा ल्याउन सकिँदैन । जन्मेदेखि मृत्युपर्यन्तसम्म फूलको आवश्यकता पर्छ । सबै जातजातिको फरक फरक संस्कार र संस्कृतिको उत्थान र विकासमा समेत फूलको प्रयोग हुन्छ तर उत्पादनमा भन्दा उपभोगमा सीमित हुने बानीले जमिन त बाँझो हुने नै भयो तर कृषिको आयात प्रतिस्थापन भने नरोकिने कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले जानकारी दिनुभयो ।
“बजारमा फूलको माग बढेको बढ्यै छ, आवश्यकता अनुसारको उत्पादन दिन सकिएको छैन ।” गैरेले भन्नुभयो । नेदरल्यान्डस्, थाइल्यान्ड, अमेरिका लगायत देशमा गुलाब, कार्नेसन, जर्बेरा, ग्लाडियोलस, सयपत्री, गोदावरी लगायत नेपाली कट फ्लावरको माग दैनिक बढेको भए पनि नेपालबाट निर्यात हुन सकेको छैन ।
phul2
“युरोपका झन्डै १२ मुलुकमा नेपाली कट फ्लावर निर्यात गर्न सकिन्छ ।” सनराइज एग्रो टेक सेन्टरका प्रोपाइटर विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
झन्डै रु पाँच अर्बको लगानी रहेको फूल व्यवसायमा हाल ४० हजार मानिस प्रत्यक्ष संलग्न छन् । एक सय ४० हेक्टर जमिनमा फूलखेती भइरहेको छ । अठ्तीस जिल्लामा ६७५ फार्मले विभिन्न जातका फूलखेती गरिरहेका छन्, तर पनि माग अनुसारको आपूर्ति हुनसकेको छैन ।

उत्पादनको भरपुर सम्भावना भए पनि बढ्दो मागलाई ध्यान दिन सकिएको छैन । प्रचुर जैविक विविधता बोकेको भूगोलका कारण यहाँ थरिथरिका आकर्षक फूल उत्पादन गर्न सकिन्छ र पनि अर्काको देशबाट आयात हुनु लाजमर्दो विषय बनेको छ ।

फूल व्यवसायले निर्यातको प्रचुर सम्भावना बोकेको छ तर काम भन्दा कुरा धेरै गर्ने नीति निर्माताको अदुरदृष्टिका कारण आयात प्रतिस्थापन गर्न नसकिएको फूल व्यवसायी सगुन श्रेष्ठको आरोप छ ।

वार्षिक रु एक अर्ब २७ करोड ७५ लाखको कारोबार हुने फूल व्यवसायबाट हाल ४० हजार व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार पाएका छन् । सन् १९५० देखि सामान्यस्तरमा सुरु भएको फूल व्यवसायमा आव ७०÷७१ मा मौसमी फुल बिरुवातर्फ रु २१ करोड ६८ लाख, अलङ्कारिक बोटबिरुवातर्फ रु ३८ करोड १५ लाख, कटफ्लावर्सतर्फ रु २० करोड ४५ लाख, ल्यान्डस्केप तथा गार्डेनिङतर्फ रु १७ करोड चार लाख, खुला फूलतर्फ रु छ करोड ७० लाख, सामग्री आपूर्तितर्फ रु १२ करोड ४० लाख, अन्यतर्फ रु आठ करोड ३३ लाख र निर्याततर्फ रु तीन करोड गरी रु एक अर्ब २७ करोड ७५ लाखको कारोबार भएको हो ।
प्रचूर तथा अथाह सम्भावना बोकेको फूल व्यवसायका लागि सरकारले ‘फूल प्रवद्र्धन नीति २०६९‘ जारी गरी फूल प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV