
तनहुँ,जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ साँखर निवासी सन्तोष सिग्देलले १० रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर नेपाली कागजको उद्योग खोल्नुभएको छ ।
गत वैशाख महिनादेखि उद्योग स्थापना गरी सुरुवात गर्नुभएका सिग्देलले हाल दैनिक दुई हजारदेखि तीन हजारको (ताऊ)सङ्ख्यासम्म नेपाली कागज उत्पादन हँुदै आएको उहाँले बताउनुभयो ।
तनहुँ जिल्लासँगै लम्जुङ, गोरखा, कास्की, चितवनमा समेत कागजको माग भइरहेकोले बजारको समस्या समेत नरहेको उहाँले उल्लेख गर्नु भयो ।
गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्र्रा, लोत्तालगायतको कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिएको छ ।
कच्चा पदार्थलाई भूस दाउराले पकाउने, कास्टिक सोडा राखेर त्यसलाई पखाल्ने, सफा गर्ने, त्यसपछि मिक्चरमा राखेर पेल्ने र पेलेपछि लेदो पदार्थ निस्कन्छ त्यस लेदोलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयारी हुने सिग्देलले जानकारी दिनुभयो ।
उक्त उद्योगमा एक हजार ९०० वटा कागज सुकाउने पाता राखिएको छ । रासस