१ फाल्गुन २०७२, शनिबार

भक्तपुर, भक्तपुर र काठमाडौँ को सीमानाकाको रुपमा रहेको मनोहरा खोला एवम् आसपासका क्षेत्रबाट रातभर व्यापक रुपमा बालुवा चोरी हुने गरेको छ ।
खोला र आसपासका क्षेत्रबाट व्यापक बालुवा चोरी भएको गुनासो आएपछि भक्तपुरको दुवाकोटस्थित गुह्ेश्वरी गणबाट शसस्त्र प्रहरीको टोली खटिए पनि बालुवा चोरी निकासी भने रोकिएको छैन ।
baluwa chori
मनोहरा खोलामा दिनभर शसस्त्र प्रहरी रहने र रातभरी तस्करीले कब्जा गर्ने स्थानीयवासीको गुनासो छ । स्थानीवासी भन्छन् ‘मनोहरा खोलामा दिनभर प्रहरी हुन्छ, रातभरी तस्करी हुन्छ, प्रहरी गएलगत्तै तस्करीले खोलासँगै भक्तपुर तर्फको क्षेत्रबाट व्यापक बालुवा निकालेर काठमाडौँ निकासी हुन्छ ।’

रातको करिब १० बजेपछि प्रहरी फर्कने र प्रहरी फर्किएपछि बालुवा तस्करीले खोलादेखि भक्तपुर तर्फको बालुवाको ढिस्को कब्जा गरेर बालुवा झिकेर काठमाडौँ लैजाने गरेको चाँगुनारायण नगरपालिका मनोहराका स्थानीयवासी रामशेखर श्रेष्ठले बताउनुभयो ।

विगत वर्षमा भक्तपुर जिल्ला विकास समितिले खानी सञ्चालनको अनुमति दिँदा खोलाबाट बालुवा चोरी कम हुने गथ्र्यो । तर यसवर्ष भक्तपुर जिल्ला विकास समितिले बालुवा खानी सञ्चालनको अनुमति नदिएपछि अवैध रुपमा बालुवा चोरी निकासी व्यापक रुपमा बढेको हो ।

खोला नै भासिने गरी तस्करीले बालुवा चोरी गर्दा प्राकृतिक सम्पदा नष्ट भएको बताउँदै स्थानीयवासी रामशङ्कर फुयाँलले बालुवा चोरीका कारण खोलाले आफ्नो धार परिवर्तन गर्दा जिल्लाको सिमानासमेत मिचिएको बताउनुभयो ।

शसस्त्र प्रहरी गुह््रेश्वरी गण दुवाकोटका प्रमुख प्रहरी उपरीक्षक राघवसिंह थापाले भने शसस्त्र प्रहरी बलले नै बालुवा चोरी नियन्त्रण गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘‘मनोहरा खोलाको क्षेत्र र बालुवा झिक्ने एरिया धेरै भएकाले प्रहरी नपुगेको क्षेत्रमा कतै चोरी भएको भए थाहा भएन तर शसस्त्र प्रहरीले २४ सैघण्टा ड्युटी गरेर बालुवा चोरी निस्तेज पारेको छ, चोरी छ भने अझै पनि कडाई गर्नेछौ ।’’

बालुवा चोरी गरेर बिक्रीका लागि लैजादै गरेको २५ वटा भन्दा बढी चोरीका बालुवा बोकेका गाडीलाई नियन्त्रणमा लिएर भक्तपुर जिल्ला विकास समितिलाई बुझाएको उहाँले बताउनुभयो ।

जिल्ला विकास समिति भक्तपुरका स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले यसवर्ष भक्तपुरका सबै बालुवा खानी बन्द भएको बताउनुभयो ।

मनोहरा खोला र आसपासका क्षेत्रबाट बालुवा चोरी निकासी हुने गरेको गुनासो आएपछि प्रहरीको सहयोग मागेको बताउँदै पुरीले प्रहरीले त्यस्ता व्यक्ति र गाडीलाई नियन्त्रण गरी जिविसलाई बुझाउने गरेको बताउनुभयो ।

भूकम्पले भत्काएका घर तथा भवनको पुनःनिर्माणको काम सुरु भएपछि उपत्यकामा व्यापक रुपमा बालुवाको माग भएको तर भक्तपुरका बालुवा खानी बन्द भएपछि तस्करीले मनोहरा खोला र आसपासका बालुवाको ढिस्कोलाई निसाना बनाएर बालुवा तस्करी गर्ने गरेको स्थानीयवासीले बताएका छन् । रासस

 

LIVE TV