१ फाल्गुन २०७२, शनिबार

पुजारी र भक्तजनले हेर्न नहुने ‘कालभैरव’

पाल्पा, भैरवस्थानस्थित कालभैरव मूर्ति विकराल भएकाले पुजारी र दर्शनार्थी कसैलाई पनि प्राचीनकालदेखि नै हेर्न दिइँदैन ।

पाल्पाका तत्कालीन सेनवंशीय राजा मुकुन्द सेन प्रथमद्वारा भैरव बाबा उत्पत्ति गराएको किंवदन्ती रहेको स्थानमा भैरवस्थान मन्दिर निर्माण गरिएको इतिहासमा उल्लेख छ । मन्दिरसँगै विहार जस्ता आकारका पौवा उत्तरदक्षिण फैलिएका छन् । त्यहीँबाट राजा मुकुन्द सेनले नियमित रुपमा भैरवको आराधना गर्थे ।

दुई तलामा विभाजित मन्दिरको माथिल्लो तलामा वटुक भैरव र तल्लो तलामा भयङ्कर महाकाल भैरवको मूर्ति छन् । महाकाल भैरव मूर्तिलाई कालो कपडाले छेकिएको छ । महाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको पुजारी रघुनाथ योगीले बताउनुभयो । काल भैरवको मूर्ति देख्नेबित्तिकै तर्सिने, झस्किने भएको हुँदा प्राचीनकालदेखि नै मन्दिरका पुजारीले मूर्ति अगाडि छोपिएको कालो कपडा बाहिरबाट पूजा गर्ने गर्छन् । यहाँ आउने दर्शनार्थीले माथिल्लो वटुक भैरवको मात्र पूजा गर्ने गर्छन् ।

यहाँको अर्काे आकर्षण विश्वकै सबैभन्दा ठूलो त्रिशूल हो । पौराणिक मान्यतानुसार पाल्पा गौँडाका प्रमुख खड्गशम्शेरले आफ्नी रानीको इच्छानुसार त्रिशूल चढाएका थिए । त्रिशूलमा सुनको लेपन लगाइएको हुँदा जतिबेला पनि नयाँ जस्तै देखिन्छ । त्यस्तै मन्दिरको अर्को विशेषता भाकलस्वरुप ल्याइएका पशुको बलि दिँदा खुकुरी, खुर्पा र दाउलाई अहिलेसम्म धार नलगाइकन एकै पटकमा सजिलैसँग काटिने गरेको यहाँका समुदाय बताउँछन् ।

तल्लोे भागको पश्चिमतर्फका कोठामा देवीको मूर्ति छ, जसलाई भक्तजनले माई भनेर पुकार्ने गर्छन् । मन्दिर परिसरभित्रै प्राणेश्वर गणेश तथा शिवका मूर्ति समेत छन् । मन्दिरको छानामा स्वर्णमय जलप लगाइएको विशाल गजुर छ । भैरव बाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले विभिन्न ठाउँबाट दर्शनार्थी यहाँ आउने गर्छन् । स्थानीयवासीले हरेक वर्ष भैरव बाबालाई एउटा रोट चढाउने गर्छन् । कुनै वर्ष चढाउन छुट्यो भने अर्को वर्ष दुई रोट चढाउने गरिन्छ । रोटका साथै मन्दिरमा हाँस, कुखुरा, बोका र पाडाको पनि बलि दिने गरिन्छ ।

विसंं २०१४ मा तत्कालीन राजा महेन्द्र दर्शनका निम्ति यहाँ आएपछि यसको महत्व झन् बढ्दै गएको स्थानीयवासीको भनाइ छ । विसं २०३७ मा चोरी भएको प्राणेश्वर मूर्ति भैरव बाबाको शक्तिले चोरी गर्ने व्यक्ति र मूर्ति भेटिएको पुजारी योगीले बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV