१ फाल्गुन २०७२, शनिबार

म्याग्दी, यसवर्ष म्याग्दीका पाँच ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर भौगोलिक रुपमा दुर्गम र विकट बस्तीमा स्वास्थ्यसेवा विस्तार गरेको हो ।

रुमको डाँडागाउँ, शिखको पाउद्वार र अर्मनको धारामा सामुदायिक स्वास्थ्य इकाई तथा बेनी नगरपालिका– ११ सेतोढुङ्गा र १२ डडुवामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी सेवा विस्तार गरेको जिल्ला स्वास्थ्य प्रमुख वरिष्ठ चिकित्सक रोशन न्यौपानेले जानकारी दिनुभयो ।
HOS
भौगोलिक विकटताका कारण गाविसस्तरमा रहेका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन नसकेका बस्तीका बासिन्दाको सुविधाका लागि स्वास्थ्य इकाई स्थापना गरिएको चिकित्सक न्यौपानेले बताउनुभयो ।

सामुदायिक स्वास्थ्य इकाईमा एकजना अहेब र एकजना अनमीको व्यवस्था गरिएको छ ।

स्वास्थ्य इकाईबाट स्वास्थ्य परीक्षण, सरकारले उपलब्ध गराउने निशुल्क औषधि वितरण, परामर्श, साधारण रोगको उपचार, खोप र परिवार नियोजन सुविधा उपलब्ध छ । समुदायले भवन र स्वास्थ्य कार्यालयले जनशक्ति तथा औषधिको व्यवस्था गरेर इकाई सञ्चालन गरिएको हो ।

गतवर्ष बेनी नगरपालिका– ९ गलेश्वरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको थियो । सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि बस्तीदेखि टाढा र अपायकपर्ने ठाउँमा स्वास्थ्य संस्था हुँदा समस्यामा परेका सर्वसाधारणलाई राहत मिलेको छ ।

सामान्य बिरामी पर्दासमेत तीन चारघण्टा पैदल हिँडेर स्वास्थ्य संस्थामा जान बाध्य दुर्गम क्षेत्रका बासिन्दाका लागि राहत मिलेको रुम डाँडागाउँका वीरबहादुर पुनले बताउनुभयो ।

हालै सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको रुम– ८ मा पर्ने डाँडागाउँका बासिन्दा स्वास्थ्य उपचार सेवाका लागि यसअघि कम्तीमा तीन घण्टा हिँडेर रुम गाउँमा रहेको स्वास्थ्यचौकी तथा दरवाङ प्राथमिक उपचार केन्द्रमा पुग्ने गरेका थिए । यसअघि जेष्ठ नागरिक, बालबालिका, अशक्त र विपन्नको उपचार सेवामा पहुँच थिएन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV