२९ माघ २०७२, शुक्रबार

(वैदेशिक रोजगारीमा रहेका महिलाहरु नेपालमा जीका भित्र्याउने माध्यम बन्न सक्ने)

रोजगार र अन्य कामको शिलशिलामा नेपाली महिला पनि विदेश आवतजावत गर्ने हुनाले जीकाको सम्भावित जोखिमयुक्त मुलुकको सूचीमा नेपाल पर्नु अस्वाभाविक होइन । विश्वमा नै तीब्र गतिमा फैलिएको पछिल्लो पटक अस्तित्वमा आएको यो रोगले उत्तरको छिमेकी चीनसम्मलाई आफ्नो प्रभावमा लपेटेको छ । लगभग ५० लाख भन्दा बढी नेपाली विदेशमा रहेको अवस्थामा यो रोगको वाहककोरुपमा उनीहरु माध्यम बन्न सक्ने सम्भावना तर्फ सेचत हुन आवश्यक देखिएको चिकित्सकहरुको चेतावनी छ ।

ZIKA VIRUS

जीका भाइरस एडिज जातको लामखुट्टेले सार्ने हुँदा ट्रोपिकल मौसम भएको देशहरुमा फैलन सक्छ । एडिज जातको लामखुट्टेले सार्ने डेंगु तथा चिकनगुन्या नेपालमा गर्मी महिनामा देखापर्ने रोगहरु हुन् । यहि कारण नेपाल लगायतका देशहरुमा यो रोग भित्रन सक्ने सम्भावना रहेको हुँदा नेपाल सरकारले जनस्वास्थ्य संस्थाहरु मार्फत निगरानी गर्दै सर्बसाधारणलाई यो रोगको बारेमा सूचना जारी गरी सचेत गराउनु पर्ने आवश्यकता रहेको चिकित्सकहरुले बताएका छन् । गर्भे शिशुको मस्तिष्कमा गम्भीर असर गर्ने जीका संक्रमणको उपचार सम्भव नभएकाले रोकथाममैं ध्यान केन्द्रित गर्नुपर्छ । जीका संक्रमण प्राणघातक नभए पनि यसले गर्भे शिशुको स्वास्थ्यमा गम्भीर असर गर्छ ।

 

गत अक्टोबर महिनायता ब्राजिलमा मात्रै माइक्रोसेफाली भनिने सानो मष्तिष्क सहित बच्चाहरु जन्मने चार हजार घटनाहरु भैसकेका छन्। विश्व स्वास्थ्य संगठनले गर्भवती महिलाहरुलाई विशेष सावधान रहन भन्दै भाइरस संक्रमण भएको क्षेत्रको भ्रमण गर्नु अघि र पछि चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन भनेको छ । यो संक्रमणको सबैभन्दा ठूलो चिन्ता भनेको गर्भमा रहेको बच्चाहरुमा पार्ने प्रभाव नै हो ।

हल्का ज्वरो आउने, आंखामा संक्रमण हुने र टाउको दुख्ने  जस्ता लक्षणहरु देखिने उक्त भाइरस संक्रमण क्यारेबियन, उत्तर र दक्षिण अमेरिकाका विभिन्न २१ देशमा देखा परिसकेको छ । अल्कोहल पिउने महिला, डायबटिज भएकी महिला वा कुपोषित महिलालाई माइक्रोमोसेफली हुने संभावना प्रबल रहन्छ । हालै विश्वका २० भन्दा बढी देशमा फैलिएको जीका भाइरसको असर सबैभन्दा बढी गर्भवति महिलामा देखिएको छ । यो भाइरसमा माइक्रमोसेफली नामको विमारी हुन्छ ।

डब्लुएचओले भने अनुसार, लामखुट्टेबाट बच्न पुरै शरीलाई ढाकेर राख्नुपर्छ , हल्का रंगको कपडा लगाउनुपर्छ । घरको छेउछाउमा गमला, बाल्टी, कुलर आदिमा भरिएको पानी फालिदिनुपर्छ । ज्वरो आउने, घाँटीमा सिकसिक, जोर्नीमा दुखाई, आँखा रातो हुने लक्षण देखिने वितिकै धेरै भन्दा धेरै पानी पिउनुपर्छ र आराम गर्नुपर्छ । मच्छरदानीको प्रयोग गर्न र रोग संक्रमण हुनु भन्दा अगाडि नै सचेत रहने बानि बसाल्न अनिवार्य नै बनेको छ ।

LIVE TV