
झापा,पदक जित्ने खेलाडीको हकमा कस्तो व्यवहार गरिनु पर्छ , त्यो सर्वसाधारणले पनि जान्ने बुझ्ने कुरा हो । तर विरामी अवस्थामा नै खेलेर भएपनि देशको लागि पदक जिताएका उसुका खेलाडीहरुको यतिखेर कन्तविजोग बनेको छ । देशको लागि नै लाजमर्दो यो घटनाले नेपाली खेलकुद जगतलाई नै लज्जित बनाएको छ ।
भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेर फर्केका ९ जना उसुका खेलाडी झापामा बेखर्ची भएर अलपत्र परेका छन् । खेलाडी लिएर खेलमा सहभागी हुन पुगेका उसुका टिम म्यानेजर र प्रशिक्षकहरू पदक विजेता खेलाडीहरूलाई अलपत्र छाडेर जहाजबाट काठमाडौं गएको खेलाडीहरुको गुनासो छ । अलपत्र मध्येका २ जना खेलाडी सिकिस्त बिरामी छन् । सागमा रजत पदक जितेका हरिप्रसाद गोले र राजेश चौधरी बिर्तामोडस्थित बि एण्ड सि अस्पताल उपचार गरी काकंडभिट्टास्थित होटलमा आराम गरिरहेका छन् । टिम म्यानेजर र प्रशिक्षकहरूले खेलाडीलाई बिहीबार राति काँकडभिट्टामा अलपत्रै छाडेर इटहरी बास बसी शुक्रबार जहाजमा काठमाण्डौं गएपछि आफुहरुको विचल्ली भएको टिम क्याप्टेन धनवीर महर्जनले बताए ।
उसुका टिम म्यानेजर र प्रशिक्षकहरुले भारतमा पनि राम्रो खानपान र आराम तर्फ ध्यान नदिदा आफुहरु विरामी परेको र उपचारमा कुनै चासो नदिएको खेलाडीहरुको गुनासो छ ।