
पोखरा, । विजयपुर खोलामा निर्मित कालिका गाविस–६ र पोखरा उपमहानगरपालिका–२२ लाई जोड्ने पक्की पुल उद्घाटन गरिएको छ ।
पुलको उपप्रधान मन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले आज यहाँ आयोजित एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।
लोकल रोड बृज प्रोग्रामअन्तर्गत कुल ३७.२५ मिटर लम्बाइको पुल कुल रु एक करोड ८९ लाख ११ हजार ९५६ को लागतमा निर्माण गरिएको हो ।
कार्यक्रममा उपप्रधानमन्त्री थापाले पुलको निर्माणसँगै यस क्षेत्रको विकासका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको बताउँदै उहाँले सरकार राजनीतिक दलसँग छलफल गरी चाँडै नै निर्वाचन गराउने तयारीमा लागिसकेको उल्लेख गर्नुभयो ।
संविधान जारीसँगै देशको शान्ति प्रक्रिया र राजनीतिक सङ्क्रमण अन्त्य भएकोमा जोड दिँदै उहाँले देशलाई अब आर्थिक समृद्धि र विकासको मार्गमा उन्मुख बनाउनुपर्ने धारणा राख्नुभयो ।
नयाँ संविधान दलबीचको सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै उहाँले यो परिवर्तनशील दस्तावेज भएकाले यसमा अन्तरनिहीत विषयलाई जनताले चाहेमा आवश्यकताअनुसार परिमार्जन गर्दै जान सक्ने बताउनुभयो ।
सांसद शारदा पौडेलले विकास निर्माणमा राजनीतिकरण हुन नहुने उल्लेख गर्दै समाजको विकासका लागि सबैको एकताबद्ध सहयोग अपरिहार्य हुने बताउनुभयो ।
स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले पुलको निर्माणसँगै कसेरीभैसे थुमाकोडाँडालगायत यस आसपासका क्षेत्रको विकासमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष देवीजङ्ग गुरुङले पुलको अभावमा लामो समयदेखि सम्भावना बोकेर पनि ओझेलमा परेको कसेरीभैसे थुमाको डाँडा र यस आसपासको क्षेत्रका लागि पुल बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस (