
भक्तपुर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी फागुन ७ गते हुने भारत भ्रमण दुई देशको सम्बन्ध सुधार गर्न केन्द्रित हुने बताउनुभएको छ ।
आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–१२ क्वाछें थिमीमा रहेको शङ्खधर मेमोरियल स्कुलको १२औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले भारतसँग विगतमा देखिएको तिक्तता प्रधानमन्त्रीको भ्रमणले अन्त्य हुने बताउनुभयो ।
मन्त्री खरेलले भन्नुभयो– “भारतसँगको नेपालको सम्बन्ध हामीले बिगारेको होइन, दुई देश आपसमा मिलेर जानुपर्छ भन्ने हो, पुर्खाले जोगाएको स्वाभिमानलाई कुनै पनि बहानामा हामी झुक्न दिन्नौँ ।”
नेपालबाट छिमेकी मुलुकलाई असुरक्षा हुन नदिनेमा जोड दिँदै उहाँले छिमेकीसँगको सम्बन्धलाई ठीक ढङ्गले व्यवस्थित गर्ने उहाँको भनाइ थियो ।
भारत भ्रमणपछि प्रधानमन्त्री ओलीले चीनको पनि भ्रमण गर्ने बताउँदै उहाँले चीनको भ्रमणमा पारबहन, आपूर्ति र व्यापार विविधिकरणबारे छलफल हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अहिले घोषणा गरेको विषयलाई आलोचना गर्दै हाँसोमा उडाउनु गलत भएको टिप्पणी गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीले गरेको घोषणा साकार भएपछि अहिले हाँस्ने आफैँ हाँसोको पात्र बन्ने बताउनुभयो ।