भक्तपुर, यहाँका सांसदले प्रधानमन्त्रीलाई भारत भ्रमणका बेला नेपालको हितविपरीत सन्धिसम्झौता नगर्न आग्रह गरेका छन् ।
जिविस भक्तपुरले आज यहाँ आयोजना गरेको आव २०७३÷०७४ को एकीकृत योजना तर्जुमा गोष्ठीमा नेमकिपा विदेश विभाग प्रमुख एवम् सांसद प्रेम सुवालले यसअघिका सरकारले भारत भ्रमणमा नेपालको हितविपरीत कुनै काम गर्दैनाँै भने पनि कुनै न कुनै विषयमा नेपालको हितविपरीत सम्झौता गरेर आएको हामीसँग प्रमाण छ, अब जस्तोसुकै परिस्थितिमा पनि प्रधानमन्त्रीले भारतसँग नेपालको हितविपरीत कुनै सम्झौता गर्नुहुन्न भन्ने विश्वास छ ।
“भारतले नेपालको पानी कब्जा गर्न ग्यास र तेलको राजनीति गर्न खोजेको छ, अझै पनि भारतले नाकाबन्दी गर्न सक्ने सम्भावना छ”–उहाँले भन्नुभयो । कार्यक्रममा एमालेका सांसद केदार सञ्जेल र नेमकिपाका सांसद अनुराधा थापा मगरले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतसँग नेपालको हितविपरीत कुनै पनि सम्झौता नगर्नेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो ।
त्यस अवसरमा प्रजिअ तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरी, राजनीतिक दलका नेतालगायतले जनताको आवश्यकतानुसार विकासको रोजाइ हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयले वार्षिक योजना प्रस्तुत गरेका थिए । रासस (तस्बिर उपलब्ध छ)
––––––––