(कुनै समय पर्यटकले वास समेत नपाउने म्याग्दीको घोडेपानीमा पर्यटकको उपस्थिति घट्दै, यो बर्ष मात्र करिब १ अर्ब ५० करोड आम्दानी गुम्यो)
म्याग्दी,अघिल्लो बर्षसम्म म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानीमा पर्यटकले बस्ने बास पाउन समेत पहिल्यै बुकिङ गनुपर्ने अवस्था थियो । सानो र सुन्दर बस्ती घोडेपानीमा विश्वभरबाट आएका पर्यटकको घुईचो नै लाग्यो तर यो बर्ष अघिल्लोबर्षको जस्तो दृष्य देख्न पाइदैन् । आन्दोलन र मुलुकमा देखिएको अशान्तिले घोडेपानीको पर्यटनमा ग्रहण नै लागेको छ ।
विनासकारी भूकम्प, भारतीय नाकाबन्दी, बन्दहड्ताले बर्षेनी ५० हजारभन्दा धेरै विदेशी पर्यटक आवतजावत गर्ने घोडेपानी समेत पर्ने प्रमुख पर्यटकीय गन्तब्य अन्नपूर्ण संरक्षण क्षेत्रमा सन २०१५ मा पर्यटक आगमन ३८ प्रतिशतले घटेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै घट्दा सो क्षेत्रमा करोडौको आम्दानी गुमेको छ । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को तथ्याङ्कमा पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा सन् २०१५ मा ३८ प्रतिशत पर्यटक घटेको छ । पर्यटकको आगमनमा गिरावट आउनुको प्रमुख कारण भूकम्प, आन्दोलन, नाकाबन्दी र प्रतिकूल मौसम रहेको एक्यापले जनाएको छ । सन २०१५ मा ८० हजार जना पर्यटकले एक्याप क्षेत्रको भ्रमण गरेका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा ५० हजार जना कम हो । पर्यटक आगमन घटेपछि यस क्षेत्रका होटल र पर्यटन व्यवसायी निराश बनेका छन् ।
मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विगतमा २१ दिनको उत्कृष्ट गन्तब्य भएपनि अधिकांस स्थानमा कच्ची सडक पुगेपछि यात्रा छोटिएकाले पनि पर्यटन ब्यवसायमा समस्या भएको ब्यवसायीको भनाई छ । २१ दिनको यात्रा अहिले नौ देखि १० दिनमा झरेको छ । एक जना तेस्रो मुलकुका पर्यटकले एक्याप क्षेत्रमा भ्रमण गर्न दुई हजार रुपैया प्रवेश शूल्क सरकारलाई तिर्नुपर्छ । नियमित आउने पर्यटकबाटै संकलन हुने शुल्क हेर्दा करिव २ अर्वभन्दा धेरै कारोबार भएको प्रष्ट तथ्याङ्कबाटै देख्न सकिन्छ । यो बर्ष करिव १ अर्व ५० करोडभन्दा धेरै आम्दानी गुमेको अनुमान पर्यटन ब्यवसायीको छ ।
अन्नपुर्ण यात्रामा निस्किएका अधिकांस घोडेपानीमा पुग्छन् । समुन्दी सतहदेखि ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानीय कला तथा मगर नृत्य लगायत प्रस्तुत गरी पर्यटकलाई आर्कषित गर्ने गरिएको छ । भूकम्पले न्युन प्रभाव पारेको भएपनि राज्यका संयन्त्र र पर्यटनकै क्षेत्रमा काम गर्ने निकायले समेत प्रचारप्रसार गर्न नसक्दा पर्यटन क्षेत्रमा यो बर्ष कालो बादल मडारिएको जस्तै भएको छ ।