२९ माघ २०७२, शुक्रबार

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणलाई लिएर विभिन्न चर्चा परिचर्चा हुन थालेको छ । नेपाल र भारतबीचको सम्वन्ध इतिहासकै अप्ठ्यारो अवस्थामा रहेको परिस्थितिमा हुन लागेको भ्रमणमा आम चासो रहनु स्वभाविकै हो । सरकार प्रमुखका भारत भ्रमणवाट सदा आशंकित हुने नेपाली प्रधानमन्त्री ओलीले के गर्लान यही प्रश्न गर्दै चनाखोपूर्वक नियालिरहेका छन् ।

पाँच महिना लामो भारतीय नाकाबन्दीवाट भर्खर मुलकले मुक्ति पाएको छ । नेपालमाथिको नाकाबन्दीलाई लिएर नेपालमामात्र नभई भारतमा समेत अत्यन्त निकटस्थ छिमेकीप्रति बेईमानी गरिएको भन्दै भारत सरकारको विरोध भएपछि नाकाबन्दी हट्न पुगेको हो । तर पनि विश्लेषकहरु नाकाबन्दी मधेसी मोर्चालाई नै अप्ठ्यारोमा पार्ने गरी फिर्ता हुनु पछाडि नेपाल र भारत सरकारबीच भएका केही गोप्य सहमति हुन सक्ने अड्कल सर्वत्र गरिन थालेको छ । भारतले आग्रह गर्दै आएको संविधान संशोधन पछि पुरै स्वागत नगरेपनि भारतीय संस्थापन पक्ष नरम बन्दै गएको अवस्था थियो । त्यही अवस्थामा नाकाबन्दी अघोषितरुपमै फिर्ता हुन जाँदा थप प्रश्नहरु खडा हुनु जानु स्वभाविकै थियो ।

नाकाबन्दी फिर्ताको विषयलाई लिएर करिव फुटको संघारमा पुगेको मधेसी मोर्चा पुनः गम्भीरताकासाथ वार्तामा सामेल भएको छ । प्रधानमन्त्रीको भ्रमण अगाडि नै ठोस सहमति हुन् सक्ने देखिएको छ । त्यसो हुन जाँदा भारत सरकारलाई पनि सहज महसुस हुने र नेपाल सरकारपनि भारतसंगको सम्वन्ध पुनःताजकिकरण गर्न गतिलो वातावरण बन्ने स्पष्ट देखिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको पहिलो उपलव्धि सम्वन्धलाई पुनः सामान्यिकृत गर्ने भएपनि आर्थि मुद्याहरु त्यस्तै महत्वपुर्ण हुने देखिएको छ । नेपालको भूकम्प पश्चातको पुर्ननिर्माण, जलस्रोत विकास, कृषि साझेदारी लगाएतमा नेपालको चाहना अनुसार सहयोग गर्ने प्रतिवद्यता गरेको नरेन्द्र मोदी सरकारले केही महत्वपूर्ण सहयोगको घोषणा गर्न सक्ने पनि देखिएको छ ।

 

कठिन अवस्थामा भारत भ्रमणमा निक्लन लागेका प्रधानमन्त्री ओलीले भ्रमण अगावै विज्ञ टोली मार्फत भ्रमणको स्पष्ट तथा ठोस एजेन्डा तय गर्नु आवश्यक छ । यस पहिले नेपालले एजेन्डा निर्माण गर्न नसेकेको नजिर रहेको कारणपनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारत सरकारसंग ओलीले नेपालको एजेन्डा प्रष्टसंग राख्न सक्नु पर्छ । आफ्नो नेपाल नीतिलाई लिएर सर्वत्र आलोचित मोदीले त्यसलाई मेट्नको लागि पनि नेपालका चासोलाई अधिकतम सम्वोधन गर्ने प्रयास गर्ने छन् । नेपाललाई भारतले जति गरेपनि केही हुँदैन भन्ने कुरावारे पछिल्लो पटक जानकार रहेका मोदीले नेपालसंगको सम्वन्धलाई कर्मचारी तहवाट भन्दा पनि राजनीतिक तहवाट सदा स्थापित गर्ने अभ्यासमा लागेको एक विज्ञले इन्डियन एक्सप्रेस अखवारमा उल्लेख गरेका थिए ।

जे होस, नेपाल नीति असफल भएको अनुभव गरेको भारतीय पक्ष र भारतसंग ठोस एजेन्डासहित छलफल गर्नु पर्ने वाध्यतामा रहेको नेपाल सरकार दुवैले भ्रमणलाई अधिकतमरुपमा सफल बनाउन गम्भीर पहल गर्नेछन् भन्ने आशा गर्ने वाटो सकिएको छैन् । कठिन अवस्थामा प्रधानमन्त्री बनेका ओलीको भारत भ्रमणपनि कम्ति चुनौतीपूर्ण छैन् निश्चितरुपमा । भारत भ्रमणलाई लिएर तीखो आँखाले हेरिरहेका आमजनतालाई ओलीले कसरी सन्तुष्ट गर्न सक्लान् त्यो हेर्न चाहिँ अझै केही दिन कुर्नु पर्नेछ ।

 

 

 

LIVE TV