
चितवन । पूर्व प्रधानमन्त्री स्व सुशील कोइरालाका विभिन्न स्वभावहरुमध्ये आफूले कार्यक्रममा बोलिसक्दै गर्दा तीन पटक ‘जय नेपाल’ भन्ने र भन्न लगाउने स्वभाव सबैका लागि अनौठो र परिचित छ ।
सबै काँग्रेस कार्यकर्ताको उपस्थितिमा यो सहज भए पनि कार्यक्रममा अन्य दलका प्रमुख नेता उपस्थित हुँदा भने कोइरालाले अनुमति माग्ने र जय नेपालको व्याख्या गर्ने गरेको पाइन्थ्यो ।
गतवर्ष चितवनको क्षेत्र नं ४ बाट निर्वाचित भएपछि कोइराला प्रधानमन्त्री बन्नुभयो । क्षेत्र नं ४ कै शिवनगरको नारायणी विद्या मन्दिरले आफ्नो स्वर्ण महोत्सवमा त्यही विद्यालय पढ्नुभएका एकीकृत नेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल र सोही क्षेत्रका सांसदसमेत रहनुभएका कोइरालालाई निम्तो दियो ।
समय यस्तो थियो प्रधानमन्त्री र विपक्षी दलका बीचमा निकै दरार बढेको थियो । धेरैले भने, कोइराला र दाहालको चितवनको भेटसँगै सरकार र विपक्षी दलको सम्बन्ध सुध्रियो । कार्यक्रममा आफ्नो मन्तव्य टुङ्ग्याउनै लाग्दा अन्य कार्यक्रममा जस्तै गरी कोइरालाले ‘जय नेपाल’ भन्न सुरु गर्नै आँट्दा दाहाललाई सम्झिनुभयो । ‘जय नेपाल’ भन्न छोडेर उहाँले दाहालसँग अनुमति माग्नुभयो ।
दाहालको अनुमतिसँगै ‘जय नेपाल’ को खास व्याख्या उहाँले सुरु गर्नुभयो । कोइरालाले भन्नुभयो – “जय नेपाल भनेको नेपालको जय हो ।” उहाँले थप्नुभयो – “सबैको जय हो, हिमालमा बस्नेको जय, पहाडमा बस्नेको जय, तराईमा बस्नेको जय हो, सबैको जय हो ।” कोइरालाले जयको अझै व्याख्या गर्नुभयो – “महिला, जनजाति, आदिवासी, दलित, अपाङ्ग, अल्पसङ्ख्यक, मुस्लिम सबैको जय हो ।”
उहाँले भन्नुभयो “किसान, मजदुरको पनि जय हो, जबसम्म नेपालको जय हुँदैन तबसम्म कसैको पनि जय हुँदैन । त्यसकारण हामीहरु जय नेपाल भन्छौँ” । दाहालतिर फर्किएर उहाँले भन्नुभयो – “यसलाई काँग्रेसीको हो भनेर भन्छन्, त्यो होइन, त्यसरी लिनु पनि हुँदैन ।” फेरि कोइरालाले दाहालसँग अनुमति माग्नुभयो –“म तीन पटक जय नेपाल भन्छु, सबैले भन्नुहोला ।” कार्यक्रममा सहभागी सबैले एकैसाथ कोइरालासँगै ‘जय नेपाल’ भने । मञ्चमा रहनुभएका दाहालले भने तीनै पटक टाउको तलमाथि हल्लाउनुभयो, अनि मुस्कुराउनुभयो ।
सुशील कोइराला भन्नेबित्तिकै यहाँका सर्वसाधारणले ‘जय नेपाल’ सम्झिने गर्दछन् । चुनावको दौडानमा आयोजना गरिएका सबै कार्यक्रममा कोइरालाका धेरै कुरा नसम्झे पनि सबैले सम्झने शब्द थियो ‘जय नेपाल’ ।
देशले लामो सङ्घर्षपछि जनताकै प्रतिनिधिबाट संविधान पायो । रुष्ट बनेका मधेसी दलहरु पनि संविधान संशोधनसँगै कोइरालाको निधनको अघिल्लो दिन नाका छोडेर नेपाली जनजीवनलाई सहज बनाउनतर्फ लागे । तर देशमा अझै जय हुन भने सकेको छैन । कोइरालाको ‘जय नेपाल’ले सार्थकता पाए मात्रै उहाँको सपना साकार हुने यहाँका सर्वसाधारणको भनाइ छ । रासस