
म्याग्दीकै सुन्दर बस्ती हो घोडेपानी, दैनिक स्वदेश तथा विदेशी पर्यटक यहीबस्तीमा बास बस्न र हिमश्रंखलाको दृष्य अवलोकन गर्न आउँछन् । ब्यवसायसंगै सफा र सरसफाईमा समेत स्थानीय एकबद्ध भएर जुटेका छन् । म्याग्दीकै प्रमुख पर्यटकीय गन्तब्य समेत रहेको घोडेपानीलाई नमुना बस्ती बनाउन पर्यटन ब्यवसायी सक्रियतापुर्वक मात्रै लागेका छैनन् प्लाष्ट्रिकको मुक्त बनाउने अभियानमा समेत सफल भएका छन् ।
म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय बस्ती घोडेपानी प्राकृतिक सौन्दर्यतासंगै स्थानीयबासीन्दाको सरसफाईप्रतिको सचेतना र जागरुकताले सफा सुग्धर बनेको छ । ४४ घरधुरीको बसोबास रहेको दुई हजार आठ सय मिटरको उचाईमा अवस्थित घोडेपानीका बासिन्दाले गाउँमा सरसफाई कायम राख्न नमुना अभ्यास मात्रै गरेका छैनन् घुम्न आउने विदेशीलाई समेत चकित पारेका छन् । घोरेपानीमा संकलन गरिएको फोहोर ब्यवस्थापन गर्ने डम्पिक साईट, पलास्टिकका बोटलको विक्री वितरण र आयातित पानीको खपत रोक्न गाउँमै गुणस्तरीय खानेपानीको समेत ब्यवस्था गरिएको छ । दैनिक संकलन हुने फोहोर ब्यवस्थापनका लागि दश टन क्षमताको फोहोर राख्ने घरमा प्लास्टीकजन्य, फलामजन्य, बियरका बोतल, तथा सड्ने र नसड्ने फोहोर गरि फोहोरका प्रकार छुट्याएर राख्ने गरिएको छ । छुट्याएर जम्मा गरिएका फोहोरमध्ये पुनःप्रयोगमा आउने र सड्न सक्ने फोहोरबाट स्थानीयले फाइदा समेत लिने गरेका छन् । त्यस्तै पुनःप्रयोगमा आउन नसक्ने फोहोरलाई प्रत्येक महिना स्थानीय व्यवसायिकै सक्रियतामा घोडेपानीको बस्ती र पर्यटकलाई समस्या नपर्ने गरि नजिकैको जंगलमा लगेर नस्ट गर्ने गरेका छन् । फोहोरको व्यवस्थापनका साथै घोडेपानीको सुन्दरताबाट लोभिएर पनि एक पटक आएको बिदेशी पर्यटकले राम्रो सन्देश लैजाने गरेको होटल ब्यवसायी डमबहादुर पुनले बताउनुभयो । घोडेपानी होटल ब्यवस्थान समितिले मासिक रुपमा १५ हजार रुपैया तलबको ब्यवस्था सहित एक जना कर्मचारी नियुक्त गरि दैनिक रुपमा पदमार्ग र गाउँ सफा गर्ने व्यवस्था मिलाएको छ । यसैगरी आमा समूह र युवा कल्वले मासिक दुई पटक सरसफाई कार्यक्रम गर्छन् । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य लगायत प्रस्तुत गरी पर्यटकलाई आर्कषित समेत गर्ने गरिएको छ । मगर समुदायको मात्र बस्ती रहेको घोडेपानीमा ४७ घरधुरी रहेकोमा अधिकांसले पर्यटन ब्यवसाय गरि बसेका छन् । पाँच दशकअघि अन्नपुर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै सुविधासम्पन्न होटलहरू बनेका थिए । विश्वको उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्णमा २१ दिने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोडेपानी १७ देखि १९ औं दिनको सुन्दर गन्तब्य भएपनि सडक विस्तारले १० दिनमा समेटिएको छ ।