२८ माघ २०७२, बिहीबार

व्यवस्थापिका–संसद्ले नेपाली कांग्रेसका सभापति, पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता स्वर्गीय सुशील कोइरालाको दुःखद् निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख ओनसरी घर्तीले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई संसद्को आजको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो ।

सभापति कोइरालाको २०७२ साल माघ २६ गते बिहान १२ः५० बजे ७७ वर्षको उमेरमा आफ्नै निवास महाराजगन्जमा निधन भएको थियो । शोक प्रस्तावमा नेपालको संविधान निर्माण गर्ने अभियान र संविधान संशोधन गर्ने प्रक्रियामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सादा जीवन र स्वच्छ छविका सांसद सुशील कोइरालाको असमायिक दुःखद निधन भएकामा बैठक गहिरो शोक प्रकट गर्दछ भनिएको छ ।
प्रस्तावमा २०४८ र २०५६ सालको प्रतिनिधिसभा सदस्य, २०७० सालको संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट निर्वाचित सदस्य व्यवस्थापिका–संसद प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति पूर्वप्रधानमन्त्री कोइरालाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । बैठकले एक मिनेट मौन धारण गरेको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा कोइरालाको नेतृत्वको सरकारको कार्यकालमा संविधान सभाबाट नेपालको संविधान जारी भएको थियो । व्यवस्थापिका–संसद्को अर्काे बैठक आगामी फागुन ४ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

LIVE TV