
झापा, माघ २८ गते। मेचीनगर नगरपालिका–१० काँकडभिट्टामा रहेको पूर्वाञ्चल पेट्रोलियम सेन्टरमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा एउटा मोटरसाइकल जल्न पुग्यो ।
आज बिहान मे६प ८६९५ नम्बरको मोटरसाइकल पेट्रोल भरेर पम्पबाट बाहिरिने क्रममा अचानक जलेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
काँकडभिट्टामा रहेको अस्थायी ट्राफिक प्रहरी पोस्टका इञ्चार्ज प्रहरी नायब निरीक्षक विष्णु तिम्सिनाका अनुसार मोटरसाइकलको ब्याट्री वा प्लग सर्ट भएर आगलागी भएको हुनसक्छ । पेट्रोल पम्पबाट पाँच फिटको दूरीमा मोटरसाइकलमा आगो लागेपनि अन्य क्षति नभएको बताइएको छ ।
अचानक मोटरसाइकलमा आगलागी भएपछि मेची नगरनगरपालिकाको वारुणयन्त्रले आगो निभाएको थियो । यसअघि झापाको बुधबारेमा पनि मोटरसाइकलमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा नै आगलागी भएको थियो । रासस