नेपाल आयल निगमले काठमाडौंमा भोलि शुक्रबारदेखि सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोल दिने भएको छ । सबै नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति बढेकाले डिजेल र पेट्रोल पहिलेकै अवस्थामा वितरण गर्न लागिएको निगमका निर्देशक दीपक बरालले जानकारी दिनुभयो । निगमले साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटरको हाराहारीमा डिजेल पम्पहरुमा वितरण गर्ने उहाँले जानकारी दिनुभयो ।
यसअघि विभिन्न नाका बन्द भएर पेट्रोलियम पदार्थको आयात कम भएपछि काठमाडौंमा मागको आधाभन्दा कम मात्रै पेट्रोलियम पदार्थ वितरण हुँदै आएको थियो ।
यसअघि मोटरसाइकल र गाडीले लटका आधारमा पेट्रोल पाउँदै आएका थिए । तर काठमाडौंमा पेट्रोलिम पदार्थको वितरण सहज हुन भने अझै केही दिन लाग्न सक्ने निगमले जनाएको छ । निगमले क्रमश पेट्रोलियम पदार्थ वितरण बढाउँदै लैजाने पनि जनाएको छ ।