२८ माघ २०७२, बिहीबार

अमेरिकी नेतृत्वको उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको बैठकले पूर्वी युरोपमा सैनिक उपस्थिती थप मजवुत बनाउने निर्णय गरेको छ । बैठकमा नेटोको सामरिक स्वार्थलाई बलियो बनाउनेमा पनि सहमति भएको छ ।
बेल्जियमको राजधानी ब्रसेल्सका रहेको नेटोको मुख्यालयमा भएको नेटो सदस्यहरुको मन्त्रिस्तरीय बैठकपछि आयोजित पत्रकार सम्मेलनमा धारणा राख्दै नेटोका महासचिव जेन्स स्टोलटेनवर्गले पूर्वी युरोप सामरिक हिसावले महत्वपूर्ण भएकोले उपस्थिती बलियो बनाउनु पर्नेमा एकमत भएको जानकारी दिए । पूर्वी युरोपका मुलुकहरुसंग मिलेर रणनीतिक कार्यक्रमहरु तयार गरी लागू गरिने उनको भनाई थियो ।
नेटोका कार्यहरुवारे प्राविधिक समितिको बैठक बसेर ठोस योजना निर्माण गरिने नेटो महासचिवले बताएको सञ्चार माध्यामहरुले उल्लेख गरेका छन् । नेटोले युक्रने संकट पश्चात पूर्वी युरोपमा योजनावद्ध किसिमले सुरक्षा उपस्थिती बलियो बनाउँदै लगेको छ । जसको कारण नेटोमा आवद्ध सैनिकहरुको संख्यामा पनि भारी वृद्धि गरिएको छ ।
तर रसिया, चीनलगाएतका मुलुकहरुले नेटोको पछिल्लो निर्णयले द्धन्द्ध समाधान भन्दा पनि सुरक्षा चिन्ता बढाएको उल्लेख गरेका छन् । यो समय भनेको शान्तिको लागि योगदान गर्ने भएको उल्लेख गर्दै रसिया चीन लगाएतका मुलुकहरुले संवादवाट भन्दा सैन्य समाधानतर्फ उन्मुख हुँदा त्यसले विश्व शान्तिमै चुनौती थप्ने स्पष्ट पारेका छन् ।
शीत युद्ध ताका तत्कालीन सोभियन युनियनको सामरिक शक्तिलाई कमजोर बनाउन खडा गरिएको नेटो सैन्य बल सोभियत संघको पतन पश्चात पनि कायम गरिएको भन्दै विश्वभर आलोचना हुँदै आएको छ । तर अमेरिकाले चाहिँ नेटोले द्धन्द्ध बढाउने नभई शान्तिको लागि पहल गर्ने दावी गर्दै आएको छ ।

LIVE TV